चितवन । विदेशमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिफोर्निया, अमेरिकाले अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३ वितरण गरेको छ। एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले देउराली फाउन्डेसनको सहकार्यमा मंगलबार चितवनको माडी नगरपालिकामा एक समारोहको आयोजना गरी सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका १० वटा संस्थाहरुलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३ वितरण गरिएको हो। जनही १ सय ५० अमेरिक डलर र सम्मान पत्रले सम्मान गरेको थियो।
पुरस्कृत हुनेमा श्रमजीवी पत्रकार संघ नेपाल, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मधेसी पत्रकार समाज नेपाल, शिक्षा पत्रकार समूह, स्वास्थ पत्रकार मञ्च नेपाल, मुस्लिम जर्नालिस्ट क्लब, राष्ट्रिय अपांग पत्रकार संघ, राष्ट्रिय यातायात पत्रकार मञ्च रहेका छन्।
माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले पहिले माडीमा वितरण गरेका अन्तर्राष्ट्रियस्तरको शिक्षा र स्वास्थ पुरस्कारलाई स्मरण गर्दै अहिलेको पत्रकारिता पुरस्कार पनि माडीमा नै वितरण गरिनुले माडीप्रति एनआरएनए नन रेसिडेण्ट नेपालीले देखाएको माया र सहयोगप्रति माडीवासीहरु निकै उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।
पुरस्कृत संस्थाहरुको तर्फबाट मन्तव्य राख्दै श्रमजीवी(पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले मिडिया क्षेत्रको मुल्यांकनसँगै खबरदारी पनि गरिदिन आग्रह गरे । ुहामी पनि जनताको प्रश्नको घेरामा छौं, विश्वसनीय पत्रकारिता हाम्रो मुख्य चुनौति हो, जैसीले भने । पुरस्कृत हुँदा समर्थन मात्र हैन जनताका एजेण्डामा रचनात्मक आलोचना पनि गर्नपर्ने बताए ।
पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले गरेका थिए भने प्रमुख अथिति माडी नगरपालिकाका उपमेयर खेम प्रसाद महतो थिए। कार्यक्रम पत्रकार राज सरगमले सञ्चालन गरेका थिए। कार्यक्रममा एनआरएनएले प्रकाशन गरेको कवि देवकी अभिलाषीको कविता कृति आदिवासी भोकको लोकार्पण गरिएको थियो।