Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

नक्कली भुटानी शरणार्थी प्रकरण : पाँच भीआईपीलाई राज्यद्रोहको मुद्दा लगाईने

spot_img
spot_img

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ । आरोपितमध्ये चार उच्च पदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँच जनामाथि भने राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरी अधिकारीका अनुसार पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईमाथि राज्यविरुद्धको अपराधमा कारबाही गर्न सिफारिस गरिएको छ । भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता टेकनाथ रिजाललाई ठगी र संगठितबाहेक राज्यविरुद्धको कसुरमै मुद्दा चलाउन सिफारिस गरिएको छ । रिजालले शरण लिएर बसेको देशविरुद्ध अपराध गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद, गृहसचिव र गृहमन्त्रीको सल्लाहकार जस्ता महत्त्वपूर्ण र अति संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तिकै संलग्नतामा नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रपञ्च रचिएको अनुसन्धानबाट पुष्टि भयो । त्यही भएर सार्वजनिक ओहदामा रहेका कम्तीमा चार र भुटानी शरणार्थी नेता रिजालमाथि राज्यविरुद्धको अपराधमा समेत थप सजाय माग गरिएको छ एक प्रहरी अधिकृत भन्छन् ।

शरणार्थी प्रकरणको मुख्य योजनाकारका रूपमा केशव दुलाल र सानु भण्डारीलाई राखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूकै योजनामा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजना बुनिएको देखिन्छ । योजना सफल पार्न गिरोहका नाइकेहरूले भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता रिजाललाई हात लिएका थिए । रिजालकै सहयोगमा भुटानका विभिन्न बस्तीका नाम उल्लेख गरेर बनाइएको शरणार्थी परिचयपत्र वितरण गर्दै सर्वसाधारणबाट रकम असुल गरिएको पाइएको छ ।

धन्दालाई वैधता दिएर शरणार्थीको सूचीमा समेट्न पूर्वउपप्रधानमन्त्री रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले सार्वजनिक ओहदाको दुरुपयोग गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको प्रहरीको निष्कर्ष छ । त्यसबापत गिरोहले उनीहरूलाई पटक–पटक मोटो रकम बुझाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गिरोहले यो धन्दा चलाउन २ देखि ३ तहमा समूह खडा गरेको थियो । त्यसको पुष्टि गर्ने गरी प्रहरी हिरासतमा रहेका गिरोहका नाइके र सहयोगीले नै बयान दिएका छन् ।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीबाट अनुसन्धान प्रतिवेदन आएर अध्ययन गरेपछि मात्रै के–कस्ता सजाय मागदाबी गर्ने भन्ने निर्क्योल हुने बताए । ‘मुद्दाको अनुसन्धान ठगी र संगठित अपराधअनुसार भएकाले तिनैसम्बन्धी दफाअनुसार मुद्दा जाने नै भयो । बाँकीबारे प्रतिवेदन आएपछि मात्रै भन्न सकिन्छ,’ उनले भने । प्रहरीलाई तपाईंहरूले देखेको तपाईंहरू गर्नुस्, हामीले देखेको हामी गर्छौं भनेका छौं ।’ प्रहरीले अनुसन्धान प्रतिवेदन लेखनकै क्रममा पनि सरकारी वकिलहरूलाई सहभागी गराएको छ । प्रहरीले यस प्रकरणबारे जानकार रहेका गृह मन्त्रालयका कर्मचारीलाई ‘साक्षी प्रमाण’ का रूपमा समेट्न सिफारिस गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन नै गायब पारेर तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहको योजनाबमोजिम फर्जी विवरण थपेको देखिएको छ । त्यसलाई किर्तेको कसुरमा कारबाही गर्नुपर्ने प्रहरीको राय छ । ‘प्रतिवेदन किर्ते गरेर नक्कली विवरण घुसाउन गिरोहका नाइके केशव दुलाल र सानु भण्डारी संलग्न रहेको देखिएको छ,’ ती अधिकारीले भने ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणका आरोपितविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी र किर्ते गरी चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । संविधानको धारा ५ मा ‘नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्’ भनिएको छ । यो धारा ५ विपरीत कसुर गर्नेविरुद्ध मूलकी अपराध संहिता २०७४ को दफा ५१ (२) अनुसार राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सकिन्छ ।

संहिताको दफा ५१ ९२० मा ‘कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्न वा गराउनु हुँदैन’ भनिएको छ । त्यसमा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फैलाउने’ काम गरेमा राज्यविरुद्धको अपराध कसुरमा कारबाही गर्न सकिने उल्लेख छ । यो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ । यसका अतिरिक्त लेनदेन गरेको भेटिए उक्त रकमसमेत जफत हुने भनिएको छ । सार्वजनिक पद धारण गरेको वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेश गएका बखत उक्त कसुर गरेको रहेछ भने थप तीन वर्षसम्म कैद सजाय हुन सक्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ५५ दिन अनुसन्धान गरेर शनिबार तयार गरिएको प्रतिवेदन काठमाडौं प्रहरीले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो । त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा गिरोहले करिब २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा जाहेरी दिएका थिए । गिरोहले १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको अनुमान छ । अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पूर्व र बहालवाला आरोपितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार र अन्यका हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत थप अनुसन्धानका लागि लेखी पठाउनुपर्ने राय छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?