Thursday, January 2, 2025

ट्रेन्डिङ :

“बन्दैछ नेपाल” भनेर जनतामा कहिले आशा जाग्नेछ सरकार?

spot_img
spot_img
spot_img

आज विश्वजगत विकास र प्रविधिमा निकै फड्को मारेर कल्पना भन्दा अगाडि निस्किसकेको अवस्था छ। तर हाम्रो देश नेपाल युवाहरुको श्रम विदेशी भूमिमा बेचेर गुजारा चलाउने सोचबाट मुक्त हुन सकेको छैन। यो सोच आउनुको मुख्य कारण राजनीतिक अस्थिरता हो।

देशको राजनीतिक अस्थिरतालाई किनारा लगाउने भनेकै देशका मौज्दाद राजनीतिक पार्टीहरु र ती पार्टीहरुद्वारा निर्मित सरकार नै हुन। तर पार्टी र पार्टीमा राज गर्ने नेताहरूमा देशको स्वार्थ भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ, त्यसमाथि आफ्नो परिवार, आफ्नो गुटको स्वार्थभन्दा माथी देश र जनताको समृद्धि र विकसको स्वार्थ हुन सकेको छैन।

राजनीतिक अस्थिरता त यतिसम्म छ कि सहजै पलायन हुन पाउने भए यहाँ बस्ने मनस्थितिमा कोहि पनि जनताजनार्दन छैनन। जसको मुख्य कारण नै वर्तमान नेता र राजनीतिक पार्टीहरुमा देशप्रतिको माया, जनताको समृद्धिको जिम्मेवारी वोध नहुनु हो।

नेताहरू केवल कोरा सपना र झुठो आश्वासन बाढ्न मै तत्लिन छन। त्यतिमात्रै कहाँ हो र, नेताहरूमा वास्तवमा विकास कसरी गर्ने हो भन्ने कुनै भिजन नै देखिदैन। यी राजनीतिक पार्टीहरुको चुनावी घोषणापत्रमा न कुनै विकास निर्माणको ठोस खाका देखिन्छ भने न कुनै कुशल शासनपद्दतीको मोडल नै झल्किन्छ।

देशलाई समृद्ध र विकसित बनाउने एकमात्रै अस्त्र भनेको आर्थिक स्तरबाट उन्नति र प्रगति गर्नु हो। तर यसमा सरकारको कुनै दिलचस्पी नै देखिदैन। पार्टी, नेता र तिनीहरूबाट निर्मित सरकारहरुमा केवल आफ्नो र आफ्नो परिवारको आर्थिक उन्नति र प्रगति नै समग्र देशको आर्थिक उन्नति र प्रगति हो भन्ने देखिन्छ।

छिमेकी मुलुकहरु चीन र भारत आर्थिक रुपमा निकै माथी उठेर विश्वमा राज गर्ने अवस्थामा पुगिसक्दा हाम्रो देशको राजनीतिक नेतृत्व अझै खै कुन नशामा झुम्म छ? देशको आर्थिक अवस्था यो दलदलमा फसिसक्दा पनि सरकारमा यसलाई पूनर्ताजगी दिने कुनै चेष्टा नै गरेको देखिदैन। राजनीतिक नेतृत्व देश विकास र निर्माणको लागि यतिसम्म भिजनविहिन र उद्देशविहिन भएको नेपालमा मात्रै होला। राजनीतिक नेतृत्वलाई सल्लाह दिने सल्लाहकारहरु पनि आफ्नो दुनो सोझ्याउने बाहेक देशको हित कसरी हुन्छ भन्नेमा सोच्ने कोहि पनि देखिदैनन। विडम्बना, देश निर्माणको बारेमा सोच्नसक्ने व्यक्तिहरुलाई न राजनीतिक पार्टी, न यिनीहरूबाट निर्मित सरकार, कसैले पनि सल्लाहकार बनाउन चाहदैनन। यस्तै तरिकाले यो देश बन्छ कसरी?

हाम्रो पहिलो पुस्ताले यस्तै भोग्यो, हामीले यस्तै भोगिरहेका छौँ, के आउने पुस्ताले पनि यस्तै भोग्नु पर्ने हो? किन सरकारको नेतृत्व गर्ने व्यक्तिले सम्पुर्ण निकायहरुको दैनिक प्रगति विवरण माग्न सक्दैन? किन लक्ष्य निर्धारण गरेर काम गराउन सक्दैन? लक्ष्य निर्धारण गरे वमोजिम काम गर्न नसक्नेलाई किन जिम्मेवारी खोसेर काम गर्न सक्नेलाई सुम्पिन तयार छैन सरकार? अब विश्व कहाँबाट कहाँ पुगिसक्यो, यस्तै पाराले हामीले विकासको लक्ष्य भेटाउन सक्दैनौं। समयले कदापि पर्खिन सक्दैन। शासन गर्ने व्यक्तिमा राष्ट्रहित र राष्ट्रको विकास नै मुख्य स्वार्थ हुनुपर्दछ र शासनसत्ता संचालन गर्ने व्यक्ति निष्कलंक र विवादरहित रहन सक्नु पर्दछ। तब मात्रै उसले देशको लागि निस्वार्थ भएर केही दिन सक्दछ।

अब देश निर्माण गर्न हाम्रा हरेक अङ्गहरु यति धेरै सक्रिय हुने बेला आएको छ कि हामीले छोटो समयमै धेरै लक्ष्यहरु हासिल गर्न सकेनौं भने भोलि हाम्रो देश युवाविहिन, श्रमशक्ति विहिन राष्ट्र हुने दिशामा डोरिने पक्का हो। त्यसको केही छनक त अहिले नै देखिन थालिसकेको छ। जब हाम्रो देशमा श्रम गर्ने युवा नै हुदैन भने राष्ट्र निर्माण गर्ने को? न देशले विदेशी श्रमशक्तिलाई किन्न सक्छ, न कुनै कार्ययोजना नै सहज तरिकाले कार्यान्वयन गराउन सक्छ? देशलाई शारीरिक श्रम गर्ने शक्ति चाहिदैन र? त्यही भएर हाम्रो देशको सरकार अनि राजनीतिक पार्टीहरुले केही वर्ष आफ्ना सम्पुर्ण स्वार्थहरु त्यागेर केवल राष्ट्र निर्माण गर्ने स्वार्थलाई अगाडि सारेर हिड्ने बाहेक विकल्प छैन। त्यसको लागि छिमेकी राष्ट्रहरुसितको कुटनैतिक सम्बन्ध सुधार पनि मुख्य कुरो हो।

अब सरकारले समयमै आर्थिक क्रान्ति हुने खालका काम गर्न विलम्ब गर्ने बेला नै छैन। देशमा लगानीको माहोल निर्माण गर्न सबैभन्दा पहिले भएका उद्योगधन्दा र व्यावसायिक प्रतिष्ठानहरुलाई यस्तो आर्थिक दलदलबाट माथी उठाउने ठोस कदम चाल्न नितान्त आवश्यक छ। साथै बाहिरको लगानी आकर्षित गर्न देशमा भएका विद्दमान बाधा पुर्याउने कानूनहरुलाई तुरुन्तै खारेज गरेर सरल र सहज हुने कानूनहरु निर्माण गर्न जरुरी छ। साथै उद्योग र व्यावसायिक प्रतिष्ठानहरुमा आन्दोलन, हड्ताल गर्ने जस्ता कार्यहरू पूर्णरुपमा प्रतिबन्धित हुने कानून बनाउन आवश्यक छ। रोजगारी सिर्जना गर्ने उद्योग, व्यवसायीहरुलाई राज्यले विशेष किसिमको सुविधा र सुरक्षा दिएर उनीहरुको मनोबल सदैव उच्च राख्ने माहोल निर्माण गर्न सक्नु पर्छ। जसको प्रत्यक्ष असर विदेशी लगानी हाम्रो देशमा आकर्षित हुन्छ। विदेशी लगानी ल्याउन सक्यो भने यसले एकातिर हाम्रो देशका नागरिकहरुले रोजगारी प्राप्त गर्नेछन अर्कोतिर राज्यले कर प्राप्त आम्दानी प्राप्त गर्नेछ।

शासकहरुको मनसाय देश निर्माण गर्ने नै हो भने हरेक तरहबाट काम गर्न सकिन्छ तर सरकार किन “बन्दैछ नेपाल” भनेर देशप्रति राष्ट्रभाव जागृत गर्न सकिरहेको छैन? साच्चिकै देश निर्माणमा सरकार जागे यहाँ साथ दिन हरेक नागरिक आफ्नो ठाउँबाट जाग्न तयार छन। तर जगाउने व्यक्तिको खाचो छ। अब देश निर्माण गर्न जाग्ने काममा ढिलाइ नगरौं।

जय देश!

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?