भारतको हरियाणा राज्य सरकारले किसानहरुको खेतमा ड्रोनको सहायताले युरिया छर्कने भएको छ। राज्यका ८.८७ लाख किसानहरूले ‘मेरी फसल मेरा ब्योरा’ नामक पोर्टलमा खरीफ बालीको लागि दर्ता गरेका छन्।
हालसम्म राज्यमा ६०.४० लाख एकड जग्गा पोर्टलमा दर्ता गरिएको छ। किसानलाई यो सुविधा यथाशीघ्र उपलब्ध गराउन प्रदेश सरकारले कृषि विभागका अधिकारीलाई निर्देशन दिएको छ।
पहिलो चरणमा राज्यका एक लाख एकड जमिनमा ड्रोनमार्फत नानो युरिया स्प्रे गर्ने लक्ष्य राखिएको छ। प्रदेश सरकारले ड्रोन प्रविधिबाट कृषि क्षेत्रको प्रवद्र्धन गर्ने योजना बनाएको हो।
हरेक जिल्लामा सबै किसानलाई ड्रोनमार्फत युरिया छर्ने सुविधा उपलब्ध गराउनका लागि भारतको सो राज्य सरकारले व्यापक रूपमा काम गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
अनलाइन दर्ता गरेर सुविधा लिन सकिने
यो सुविधा लिनका लागि अनलाइन दर्ता गर्नुपर्ने बताईएको छ। यसका लागि किसानले आफ्नो मोबाइल वा साझा सेवा केन्द्र मार्फत ‘मेरी फसल मेरा ब्योरा’ पोर्टलमा दर्ता गर्नुपर्नेछ। दर्ता गर्दा किसानले युरियाको लागि आवेदन दिनुपर्नेछ र यसको शुल्क पनि जम्मा गर्नुपर्नेछ।
ड्रोनबाट आफ्नो खेतमा युरिया छर्नका लागि किसानले प्रति एकड १०० भारतीय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यसमा प्रयोग हुने ड्रोनका लागि कृषि विभागले शुल्क लिनेछ र सेवा नि:शुल्क उपलब्ध गराइनेछ।
यसका साथै, ड्रोन टेक्नोलोजीलाई प्रवर्द्धन गर्न हरियाणा सरकारले महिलाहरूलाई यो प्रविधिको तालिम पनि दिइरहेको छ।