Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उहाँले सो दाबी गर्नुभएको हो ।

प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रूपमा रहेको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्नुहुँदै त्यसलाई अझ बढी उन्नत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्नुहुँदै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताउनुभयो । प्रवक्ता सापकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनैपनि दुष्प्रयास सफल नहुने पनि बताउनुभयो ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन् । यो गणतन्त्रलाई अझ अग्रगामी, अझ समृद्ध बनाउनका लागि नेपाली जनताले माग गरेका छन् । अझ स्पष्ट शब्दमा सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा हो ।’’

प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरूबिच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘त्यहीअनुसार सबै राजनीतिक पार्टीहरूले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ । र साझा सवाल हो । यसमा सबै अग्रगमनका पक्षधरहरू, परिवर्तनका पक्षधरहरू एक ठाउँमा आउनुपर्छ । तपाईँको प्रश्नमा यो एकातिर लोकतन्त्रवादीहरूसित जो अग्रगमनका पक्षमा थिए, तिनीहरूसित सहकार्य र वृहत् वामपन्थी एकीकरण । अनि, त्यसको साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठन अहिलेको नेपालको अपरिहार्य आवश्यकता हो ।’’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?