मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना २ जना मन्त्री बर्खास्त् गरेपछि गण्डकीमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।
मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम गुग्जालीलाई पदमुक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता तयारी गरिरहेको सुनाए । तर, एक्लै सरकार बन्न सक्ने अवस्था नभएकाले साझेदार अन्य दलसँग पनि सल्लाह भइरहेको उनले बताए ।
आफूहरु केन्द्रको आधिकारिक निर्णय पर्खेर बसेको र निर्देशन आउनासाथ समर्थन फिर्ता लिएर दाबी गर्न जाने बताए । ‘केन्द्रको केही नीतिगत निर्णय बाँकी छ । त्यो निर्णय भयो भने समर्थन फिर्ता लिने हो’, उनले भने ।
समर्थन फिर्ता लिने सन्दर्भमा पार्टीभित्रै पनि छलफल भइरहेको तर, औपचारिक रुपमा संसदीय दलको बैठक बसिनसकेको चुमानले जानकारी दिए ।