सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आठ महिनामा लक्ष्यभन्दा सवा २ खर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ ।
यद्यपि, राजस्व गत आव यसै अवधिको तुलनामा भने १० प्रतिशतले वृद्धि भएको छ । आठ महिना बितिसक्दा पूँजीगत खर्च २६.८९ प्रतिशत मात्र भएको छ । यसले पुनः एकपटक विकास निर्माणको काम वर्षायाममा धकेलिने निश्चित भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म ६ खर्ब ३९ अर्ब राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको ४४.९२ प्रतिशत मात्र हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
अर्थ मन्त्रालयका अनुसार फागुनसम्म संकलन हुने भनी तोकिएको लक्ष्य ८ खर्ब ६४ अर्ब हो । यो आँकडा अनुसार लक्ष्य र प्राप्ति बीच २ खर्ब २५ अर्ब रुपैयाँको खाडल देखिएको छ ।
अर्थका अनुसार आठौं महिनासम्म भन्सारबाट ५ खर्ब ४९ अर्ब र आन्तरिक राजस्व ३ खर्ब ६१ अर्ब उठ्ने लक्ष्य थियो । तर, दुवै लक्ष्य भेट्न नसक्दा समग्र राजस्व संकलन कम भएको छ ।
स्रोतमा आएको संकुचनका कारण सरकारले आन्तरिक तथा वाह्य ऋण लिएर सार्वजनिक खर्च धान्नुपरेको देखिन्छ । फागुन मसान्तसम्म संकलन भएको ६ खर्ब ३९ अर्ब राजस्व गत आवको सोही अवधिको तुलनामा भने बढी हो । गत आव फागुनसम्म ५ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।
महालेखाका अनुसार राजस्व र अन्य प्राप्तिसहित सरकारले ६ खर्ब ६३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यसबीच अनुदान मात्र २ अर्ब ७५ करोड प्राप्त गरेको छ । अन्य प्राप्ति २२ अर्ब भएको छ ।