काठमाडौं । नेपाल ए ले दोस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।
पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो । नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए । पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ ।
नेपालको मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न सकेका थिएनन् । नेपालले आज फिनिसर नारायण जोशीलाई मौका दिनसक्छ । १४ महिनापछि क्रिकेटमा फर्किएका कमलले तीन विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए ।
उता पिटर मुर आयरल्यान्डका प्रमुख ब्याटर हुन् । उनले पहिलो खेलमा ४९ रन बनाएका थिए । स्टेफन डोहेनी, निल रक र ग्यारेथ डेलानी पनि राम्रो ब्याटर हुन् ।