पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अल्पमतमा परेपछि राजीनामा दिने तयारी गरेका छन् । माओवादी केन्द्रले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार उनले चैत २२ गते विश्वासको मत लिनैपर्छ । साठी सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको समर्थन चाहिन्छ, जुन कांग्रेससँग छैन । कांग्रेसका २७ र स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को मात्र सरकारलाई समर्थन छ ।
सरकार टिकाउन मुख्यमन्त्री पाण्डेलाई थप तीन प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । वर्तमान परिस्थितिमा उनले विश्वासको मत पाउने आधार देखिँदैन । त्यसकारण उनी राजीनामाको मुडमा पुगेका छन् । तत्काल राजीनामा दिने र संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री हुने रणनीति उनको छ । गण्डकी प्रदेशसभा अहिले स्थगित छ । अल्पमतमा परेपछि पाण्डे नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेशसभा बैठक स्थगितको निर्णय गरेको थियो । विश्वासको मतको सट्टा ३० दिन नपुग्दै राजीनामा दिने तयारीमा पाण्डे छन् ।
छिटै राजीनामा दिएमा प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन् । एमाले, माओवादी गठबन्धनले मात्रै पनि नयाँ सरकार बन्न यहाँ कठिन छ । एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक) ले आवश्यक बहुमत नपुग्ने हुँदा उसले दुई सिट भएको राप्रपालाई अनिवार्य सामेल गराउनुपर्ने बाध्यता छ । केन्द्रमा सहभागी नभएको राप्रपाले २७ गते जनप्रदर्शन गर्ने घोषणा गरेको छ । आफू आन्दोलनमा नै रहेका कारण प्रतिपक्षमा बस्ने र प्रदेशमा पनि सोही निर्णय लागु हुने राप्रपाले जनाएको छ ।