धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानीमै घर भएका प्रदेश सभा सदस्यहरुले समेत ऐनविपरीत सरकारी आवास सुविधा लिंदै आएको खुलासा भएको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ ले प्रदेश राजधानीमा घर भएका प्रदेश सभा सदस्यलाई आवास सुविधा नहुने व्यवस्था भएपनि केही सांसदहरुले आवास सुबिधा लिईरहेको खुलेको छ ।
ऐनमा भएको व्यवस्थाअनुसार प्रदेश सभा सदस्यहरुले आवास सुविधा वापत मासिक रुपमा १७ हजार रुपैयाँ दिने गरिएको छ । तर, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा भएको व्यवस्थाविपरीत सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आवास सुविधा बुझिरहेको पाइएको छ । प्रदेश अस्थायी राजधानी धनगढीमा ५३ जना प्रदेश सभा सदस्य मध्ये ७ जनाको घर छ ।
नेपाली कांग्रेसका प्रकाशबहादुर बम, डम्मरी महरा, नेकपा एमालेका धर्मराज पाठक, सन्तोषकुमारी शर्मा थापा, माओवादी केन्द्रका रमेश धामी, नागरिक उन्मुक्ति पार्टीकी इन्दिरा गिरी र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीको धनगढीमा घर छ । प्रदेश सभा सचिवालयकाअनुसार उनीहरु मध्ये कांग्रेसका प्रकाशबहादुर बम, डम्मरी महरा, नाउपाकी इन्दिरा गिरीले नियमित रुपमा सरकारी आवास सुविधा लिँदै आएका छन् ।
तर धनगढीमै घर भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी, एमाले उपनेता सन्तोष शर्मा थापा र धर्मराज पाठकले भने आवास सुविधा नलिएको जैशीले बताए । प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले समेत २०८० वैशाखसम्म सरकारी आवास सुविधा लिएको पाइएको छ । अघिल्लो कार्यकालमा समेत राजधानीमै घर भएका केही प्रदेश सभा सदस्यहरुले प्रदेश सभाबाट सरकारी आवास सुविधा लिएका थिए तर उक्त कुरा सञ्चार माध्यममा सार्वजनिक भएपछि कानुनी व्यवस्थाबारे थाहा नभएको भन्दै प्रदेश सभाबाट बुझेको रकम एकुमष्ट फिर्ता गरेका थिए ।