कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरू नै बझाङमा एक अर्काविरुद्ध निर्वाचनमा होमिएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट निर्वाचन लड्दै गरेका भण्डारी बझाङ अध्यक्ष हुन् भने नेकपा एकीकृत समाजवादीका सिंह जिल्ला इन्चार्ज हुन् । माओवादीका बुढा प्रदेश सचिव हुन् । सत्ता गठबन्धनभित्रैका तीनसहित आज १२ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए । शनिबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आइतबार बिहान १० देखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ । उपनिर्वाचनअन्तर्गत वैशाख १५ गते मतदान हुनेछ ।