काठमाडौं । भारतको पन्जाब राज्यको तरनतारनको एउटा गाउँमा एक महिलालाई कुटपिट गरी नांगै घुमाइएको घटना सार्वजनिक भएको छ। ती महिलाको त्यस्तो अवस्थामा भिडिओ पनि खिचेर भाइरल बनाइएको बीबीसी हिन्दीले जनाएको छ। उक्त घटनाको भिडिओ सार्वजनिक भएको छ, जसमा महिला नग्न अवस्थामा देखिएका छन्। एक महिनाअघि आफ्नो छोराले छिमेकी युवतीलाई भगाएर बिहे गरेको रिसमा आफूलाई यस्तो दुर्व्यवहार गरिएको आरोप पीडित महिलाले लगाएकी छन्।
भाइरल भिडिओमा पीडित महिला क्यामेराबाट बच्न मानिसको पसलमा लुक्न खोजेको देखिन्छ। यो घटना मार्च ३१ मा भएको बताइएको छ। पीडितका अनुसार युवतीकी आमा र अन्य दुई अपरिचित व्यक्ति आएर घरबाहिर निस्किनासाथ आफूलाई कुटपिट गर्नाका साथै लुगा च्यातेर पूरै नग्न बनाएर भिडिओ बनाएका हुन्। उक्त घटनामा संलग्न एकै परिवारका तीन जना र दुई अपरिचित व्यक्तिविरुद्ध विभिन्न धारामा मुद्दा दर्ता गरिएको पन्जाब प्रहरीले जनाएको छ।
तरनतारनका एसएसपी अश्विनी कपुरले पत्रकारहरूलाई बताएअनुसार पीडित महिलाका छोरा छिमेकी युवतीसँग प्रेममा परे र अदालतमा गएर बिहे गरे। केटीको परिवार यो विवाहको विरुद्धमा थियो। अनि युवतीकी आमा आफ्ना दुई छोरा र अन्य दुई पुरुषसहित केटाको घरमा गइन्। त्यहाँ चर्काचर्की भयो । दुई पक्षबीच झगडा भयो र झडप हुँदा केटाकी आमाको लुगा च्यातियो।