गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सभामुखलाई पनि समावेश गरिएको भन्दै कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ भने अधिकारीले शपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।
अधिकारीले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् । मुख्यमन्त्रीको शपथसँगै अन्य २ जनालाई विना विभागीय मन्त्री नियुक्त गर्ने तयारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए ।
माओवादीले नाम टुंगो लगाउन छलफल गरिरहेको छ भने मनाङेले महिना दिनमै दोस्रो पटक मन्त्रीको शपथ खाँदैछन् । एमाले–माओवादीको बहुमत पुग्न नदिने रणनीतिका साथ एकीकृत समाजवादीबाट स्वतन्त्र हैसियत मागेका मनाङेलाई यही चैत ५ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।
मन्त्री नियुक्त भएपछि पनि गण्डकीको सत्ताको खेलमा निरन्तर एमाले–माओवादीसँग छलफलमा रहेका मनाङेले अन्तत: अधिकारीलाई नै समर्थन गरेर फेरि मन्त्री हुने बाटो रोजेका हुन् ।
दोस्रो कार्यकालका लागि मनाङबाट स्वतन्त्र चुनाव जितेका (निर्विराेध भएका) मनाङे गण्डकीमा पाँचौ पटक मन्त्री हुँदैछन् । प्रदेशमा सत्ताको जोडघटाउमा चतुर देखिएका मनाङे अघिल्लो कार्यकालमा ३ पटक खेलकुद मन्त्री बनेका थिए भने अहिले दोस्रो पटक मन्त्री हुन लागेका हुन् ।