काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभा सदस्य बनेकी इन्दिरा गिरी पदमुक्त भएकी छन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्राचार गरेकी थिइन् । त्यही पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीको तोक आदेशबमोजिम प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको हो ।
अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षको विवादका कारण गिरीले पद गुमाएकी हुन् । गिरी कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री थिइन् । संरक्षक रेशम चौधरी पक्षको जोडबलमा गिरीसहित नाउपाका पाँच प्रदेश सांसद सरकारमा मन्त्री भएका थिए । त्यही विवादमा गिरीको मात्र पद गएको हो ।