Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

spot_img
spot_img

कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आउनुभएको छ । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उहाँ खुसी व्यक्त गर्नुहुन्छ ।

वित्तीय संस्थाबाट रु तीन लाख कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । उहाँले आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न र यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको बताउनुहुन्छ । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको उहाँको भनाइ रहेको छ ।

“जिल्लामा सङ्ग्रहालय र पार्कहरू बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्”, उहाँले भन्नुभयोे, “आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । आफूले अहिले मागअनुसारको उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।” यही व्यवसायबाट पल्टुरामको परिवारले वार्षिक रु १२÷१३ लाखको कारोबार गर्दै आएको छ । जसबाट छोरी, छोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उहाँ बताउनुहुन्छ । विभिन्न खालका मूर्तिहरु निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गर्नुभएको छ । पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उहाँको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्तिहरु दाङ जिल्लासहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत अन्य जिल्लामा समेत जाने गरेको छ ।

मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामका श्रीमती जानकी मगर पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त हुनुहुन्छ । उहासँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरहनुभएको छ । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरीहरु पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी हुनुहुन्छ ।

जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन् । उहाँको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ । पहिले पशुपालन गर्ने जानकी श्रीमान्को मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमान्सरह दिनभर मूर्ति निर्माण गर्नुहुन्छ ।

जानकी र पल्टुरामका सन्तान पनि मूर्तिकला सीपप्रति चासो गर्छन् । सुदृढ र व्यावसायिक आर्टिष्ट बन्न छोरी कृतिले फाइनआर्ट लाजिम्पाटमा कलासम्बन्धी विषयमा उच्च शिक्षा हासिल गरिरहेको बताउनुहुन्छ बुबा पल्टुराम मगर । उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्तिहरु निमार्णसँगै बिक्री भइरहेका छन् । 

न्यूनतम तीन हजारदेखि अधिकतम रु तीन लाखसम्ममा मूर्ति तयार हुन्छन् । कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन् । उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन् । यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने र रुचि, ज्ञान सीपसहित मूर्ति व्यवसायमा लाग्ने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिकरुपमा सबल बन्न सकिन्छ । 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?