देशको भविष्य पर्यटन हो । संविधानत: नेपाल धर्म निरपेक्ष तथा सनातन धार्मिक स्वतन्त्रता दुवै भएको लोकतान्त्रिक मुलुक हो । हिन्दू, बौद्ध, जैन, शिख, वोन, किरांत आदिको लागि धार्मिक स्वतन्त्रता भएको मुलुक हो । त्यसैले सर्वधर्म स्वीकार्य, धर्मनिरपेक्ष तथा धार्मिक स्वतन्त्रता दुवै गुण भएको राष्ट्र विश्वमा एकमात्रै नेपाल हो । नेपालमा लोकतन्त्र छ, सबैको अधिकार सुरक्षित छ, साथै सनातन धर्मका लागि स्वतन्त्रता छ । यो गुणलाई व्यापक रुपमा पर्यटकीय ब्र्याँडिंग गरेर पर्यटनको विकास गर्न सकिन्छ । नेपालको रुपान्तरणको आधार नै पर्यटन हो ।
पर्यटनका धेरै विधा छन । नेपाल धर्म निरपेक्ष र धार्मिक स्वतन्त्रता दुवै भएको मुलुक हो । यो सम्पूर्ण विश्वको लागी उदाहरणीय संबिधान हो बशुधैव कुटुम्बकम – विश्व बन्धुत्वको नमुना हो । यो मुलुकको सबै सनातन धर्महरुको एकीकृत प्रतिक नै आराध्यदेव भगवान श्रीपशुपतिनाथ हो । हिन्दू, बौद्ध, जैन, शिख, वोन, किरांत सबैको आस्थाको केन्द्र नै श्रीपशुपतिनाथ हो । धर्म भनेको सत्य हो सबैको सत्य एकै हुन्छ । सबै धर्मको सार नै प्रेम करुणा र मुक्ति हो । सृष्टि, स्थिति, र प्रलय तिनै कालको सार नै प्रेम, करुणा, र मोक्ष हो । त्यसैले सृष्टि, स्थिति, र प्रलय तिनै अवस्थाका प्रेम, करुणा, र मुक्तिका आधार करुणामय लोकेश्वर नै भगवान श्री पशुपतिनाथ हो । मुक्ति र भुक्ति दुवै अवस्थाबाट जीवन पार लगाउने मनोबैज्ञानिक शक्तिकेन्द्र हो । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ, सिख, शाक्त सबै आदिकाल देखिका प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ । पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक, मठ मन्दिर, चैत्य गुम्बा एवं पुजास्थल तथा विभिन्न अखाडा पनि रहेका छन् । त्यसैले भगवान पशुपतिनाथ सम्पूर्ण दर्शनहरुको एकीकृत दर्शन हो । सृष्टि, स्थिति र प्रलय (Universal Truth) को एकाकार प्रतिक नै भगवान श्रीपशुपतिनाथ हो । यो विश्वब्यापी तथ्यलाई पर्यटकीयकरण गर्न सकिन्छ । धार्मिक पर्यटनबाट नै विश्वमा शान्ति र भातृत्व स्थापना गर्न सकिन्छ ।
नेपालको ईतिहास अध्ययन गर्दा गोपालराज वंशावली अनुसार पशुपतिनाथमा नेप नामक गाई गोठाला (गोपाल) ले भगवान पशुपतिनाथको ज्योति पत्ता लगाएका थिए । “ने” मूनिबाट प्रशिक्षित उनै ग्वाला नेपको नामबाट नै नेपालको नामाकरण हुन गएको हो । त्यतिवेला देखि नै उक्त ज्योतिर्लिंगलाई दैवी शक्तिको स्वरूप मानेर पुजा-अर्चना गर्ने चलन चलेको छ । गोपाल, महिषपाल, किरांत, लिच्छवी, मल्ल, शाह, राणा, प्रजातन्त्र, लोकतन्त्र सम्म आइपुग्दा पशुपतिनाथ सम्पूर्ण विश्वमा विराजमान भैसकेको छ । सर्वप्रथम विक्रम सम्बत ४९०मा राजा सुपुष्प देवले आराध्यदेव पशुपतिनाथको भब्य मन्दिर निर्माण गरेका थिए ।
सिन्धु (इन्दस) सभ्यताको उत्खनन गर्दा सन् १९२८मा मोहन्जोधारो-हरप्पामा ध्यानमुद्रामा विराजित भगवान पशुपतिनाथको शिल (छाप) प्राप्त भएकोले पाशुपत सभ्यता अर्थात् वाग्मती सभ्यता अझै भनौं सम्पूर्ण नेपाली सभ्यताको विकास तत्कालिन शिन्धुघाटीको सभ्यता संगै भएको मानिन्छ । त्यसैले पाशुपत दर्शन विश्वको सबैभन्दा पुरानो दर्शन हो । लगभग ५००० वर्ष भन्दा पुरानो पाशुपत सभ्यता नै नेपाली सभ्यता हो । त्यसैले यो सभ्यताको अध्ययन अनुसन्धान हुनै सकेको छैन । जीवन दर्शनको उत्कृष्ट मार्ग (पाशुपत मार्ग) विश्वलाई चिनाउन नै सकिएको छैन । यद्धपि यिनै तथ्यलाई आधार मानेर युनेस्कोको विश्व सम्पदा सूचीमा नेपालको श्रीपशुपतिनाथ क्षेत्र सुचिकृत भै सकेको छ । त्यसैले यो विश्वको सम्पदा हो । पशुपति क्षेत्र विकास कोष लगाएत गुठि संस्थान, महानगरपालिका, पुरातत्व बिभागको व्यवस्थापन तथा संरक्षणमा यो सम्पदा क्षेत्र सुरक्षित छ । यो गौरवलाई पुंजिकृत गर्ने आधार नै पशुपति पर्यटन हो ।
विश्वमा इसाई ३२ %, इस्लाम २३ %, हिन्दु १५ %, बुद्धिस्ट ७ %, र अन्यमा २३ % रहेका छन् । धर्म एकै हुन्छ । ईश्वर परमपिता सबैको एकै हुनुहुन्छ । सत्य – सृष्टि स्थिति र प्रलय नै विश्वव्यापी सत्य हो । हरेक चिजको हिजो आज र भोली हुन्छ । हिजोको कर्मको फल आज र आजको कर्मको फल भोलि मिल्छ – कर्मको नियम नै धर्म हो । बौद्ध र हिन्दुले यो सत्य बुझेका छन् । अन्यलाई यो सत्य र सत्मार्ग देखाउन बुझाउन सकियो भने विश्वमा सनातन धर्म पहिलो नम्बरमा पर्ने प्रवल सम्भावना छ । इसाई तथा मुस्लिम धर्म होइनन सम्प्रदाय हुन् । हिन्दु र बौद्ध सनातनी हुन् ।
धर्म अर्थात् सत्य परापुर्व कालदेखि चल्दै आएको परिक्षण भएको सनातन हुन्छ । धर्म अर्थात सत्य एक हुन्छ अजर अमर हुन्छ । सर्वधर्मान परित्याज्य मामेकम शरणं ब्रज – सब छोडेर आत्मा तत्व बुझे पुग्छ । अहम ब्रह्म अस्मि अर्थात् तत्वमशी बुझे पछि मान्छेले सत्य बुझ्छ र सहिमार्गमा लाग्दछ । यो सहिमार्ग अर्थात् सत्मार्ग नै धर्म हो । सत्मार्गको परिणाम सत्य नै हुन्छ । यहि सत्यको प्रतिक नै भगवान पशुपतिनाथ हो ।
यहि सत्य विश्वलाई चिनाउनु छ । यसको आधार नै नेपालको धार्मिक पर्यटन हो ।
विश्वका एक अरब हिन्दूलाई पशुपतिनाथ मन्दिर बुझाउनु पर्दैन । झन्डै आधा अरव बुद्धिस्टले करुणामय लोकेश्वर भगवान पशुपतिनाथ र तथागत बुद्धको ज्ञानको विचमा कुनै अन्तर छैन भन्ने बुझेका छन् । नित्य-अनित्य, ईश्वर-अनिश्वर, तथा आत्म-अनात्म जे भनेपनि पशुपतिनाथको पाशुपत दर्शन र बुद्ध दर्शन एक हो । सनातन देखि जुन मान्दै आयो त्यहि सत्य हो । नित्य अनित्य दुवै सत्य हो – जसले जे स्वीकार गरे पनि हुन्छ – तर प्रेम, करुणा, र मुक्ति अनिवार्य हो। पाशुपत दर्शन नै त्यो विशिस्ट दर्शन हो जसले विश्वका सबै दर्शनलाई जोड्दछ । सबैले छाती फराकिलो पार्नु पर्दछ । साप्रदायिक भाव त्याग्नु पर्छ । विश्वलाई सत्मार्गमा हिंडन सिकाउने दर्शन, धर्म, सत्य, सृष्टि, स्थिति, प्रलय, हिमालय, तथा सम्पूर्ण चराचर जगतको केन्द्रविन्दु नै आराध्यदेव भगवान श्रीपशुपतिनाथको मन्दिर हो । सम्पूर्ण पशु झैं पाशले जेलिएको हाम्रो जीवनको मुक्तिका पति – मालिक नै आराध्यदेव भगवान श्रीपशुपतिनाथ हुन् । तसैले पाशुपत ज्ञानमार्गका यस्ता विभिन्न ध्यान योग साधना यज्ञ हवन प्रवचन पर्यटकहरुको बसाइ लम्ब्याउने प्रयोजनको रुपमा सदुपयोग गर्नुपर्दछ । शिव योग, शिव साधना, शिव तन्त्र, आदियोगी योगेश्वर भगवानको व्यवहारिक जीवन उपयोगी बैज्ञानिक ज्ञानका पाथासाला, कार्यशाला, योगशाला, ध्यानकेन्द्रहरु निर्माण गर्नु पर्दछ ।
भगवान पशुपतिनाथ सत्य हो । हाल दैनिक लगभग १० देखि २० हजार दर्शनार्थीले सत्यको दर्शन गर्दछ । लगभग दैनिक एकलाख दक्षिणा भेटि उठ्ने गरेको छ । बिशेष दिन अर्थात् शिवरात्रिको दिन लगभग २० लाख व्यक्तिले पाशुपत क्षेत्र भ्रमण गर्ने गरेका छन् भने लगभग ५ लाख दर्शनार्थीले दर्शन गर्ने गरेका छन् । नेपालको सबैभन्दा बढी अक्षयकोष ( लगभग ३ अरब) भएको सबैभन्दा सम्मानित संस्था हो । अति राजनीतिकरण र सहि व्यक्ति, सहि समयमा, सहि स्थानमा नहुँदा सामान्य समस्या देखिएपनि समग्रमा पशुपति क्षेत्र विकास कोष देशको, जनताको, र सम्पूर्ण चराचर जगतको श्रीवृद्धिमा निरन्तर लागिरहेको छ । चिन तथा भारतका बौद्ध तथा हिन्दु सबैलाई जोडने आधार नै नेपालको तिर्थ पर्यटन हो । असल कुटनीतिको बलियो सस्तो प्रेमाल बैकल्पिक मार्ग हो । यसलाई सदुपयोग र परिचालन – पशुपति पर्यटन नै हाम्रो पर्यटनको आधार हो ।
नेपालको पर्यटनको प्रमुख श्रोत भारतीय पर्यटक हुन् । यिनै भारतीय पर्यटक मद्धे ९० % पर्यटक भगवान आराध्यदेव श्रीपशुपतिनाथको दर्शन गर्ने पवित्र लक्ष लिएर आएका हुन्छन । यिनै भारतीय पर्यटकका बसाई लम्ब्याउने कार्यक्रमहरुको आयोजना गरेमा नेपाल र नेपालीको समृद्ध नेपाल सुखी नेपालीको सपना सजिलै पुरा हुने देखिन्छ । शैव, नाथ, बौद्ध, वैष्णव, शाक्त तथा किरांत समुदाय बढी एक अर्का प्रति प्रेमाल, संवेदनशील र एकीकृत हुनु जरुरि छ ।
जय श्रीपशुपतिनाथ !!!
(लेखक डा. बडाल पशुपति क्षेत्र विकास कोष संचालक परिषद सदस्य हुनुहुन्छ।)