Friday, September 20, 2024

ट्रेन्डिङ :

सरकार सबै राजमार्गमा सञ्चारको सञ्जाल पुर्याउन केन्द्रित छ : सञ्चार सचिव सुवेदी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले सबै राजमार्गमा टेलिफोनको ‘नेटवर्क कभरेज’ गर्नेगरी काम गरिरहेको बताउनुभएको छ । 

नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनतालाई गुणस्तरीय सञ्चार सेवा प्रदान गर्न सरकार राजमार्गमा टेलिफोनको नेटवर्क कभरेज विस्तारमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।  

सचिव सुवेदीले सरकार नयाँ दूरसञ्चार ऐन बनाउन लागेको र सरोकारवालाको सुझावका लागि विधेयकको मस्यौदा मन्त्रालयको वेभसाइटमा राखिएको जानकारी गराउँदै आवश्यक सुझावका लागि आग्रह गर्नुभयो ।

आजको सूचना प्रविधिको डिजिटल युगमा मोबाइल आम मानिसको अभिन्न अङ्ग बनेको र सबैको दैनिक जीवनसँग जोडिएको बताउँदै उहाँले मोबाइल विद्यार्थीका लागि सजिलो सिकाइको माध्यमसमेत बनेको उल्लेख गर्नुभयो । सूचना प्रविधिको महत्वलाई आत्मसात् गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरेको सचिव सुवेदीको भनाइ थियो ।  

कार्यक्रममा महासङ्घका अध्यक्ष भरत भट्टराईले यो क्षेत्रका व्यवसायीले आफ्नो व्यवसायसँगै ठूलो मात्रामा सरकारलाई कर तिरिरहेको बताउँदै सरकारले त्यस्तो कर जनताको शिक्षा स्वास्थ्य जस्तो क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले मोबाइल उत्पादक कम्पनीले उपभोक्तालाई भार नपर्ने गरी वितरकलाई १० प्रतिशत ‘मार्जिन’ प्रदान गर्न सके यो व्यवसाय दिगो हुने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा आइटेल मोबाइल कम्पनीले महासङ्घसँग न्यूनतम १० प्रतिशत मार्जिन दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हाल मोबाइल व्यवसायीले चार प्रतिशत मार्जिनमा व्यवसाय गरिरहेका छन् । महासङ्घले सबै मोबाइल उत्पादक कम्पनीसँग १० प्रतिशत मार्जिनमा व्यवसाय गर्ने लक्ष्य राखेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाईं (सोभित)ले जानकारी दिनुभयो ।   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?