Tuesday, October 22, 2024

ट्रेन्डिङ :

पुरानै भाडा कायम, पूरै सिटमा यात्रु राखिदै, सुरक्षा मापदण्ड पालना गर्न नसकिने- यातायात व्यवसायी

काठमाडौँ। लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा कायम गरेको हो । सूचना सार्वजनिक हुनासाथ यातायात व्यवसायीले पूरै सिटमा यात्रु राखेका छन् । पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असोज १ देखि ५० प्रतिशत भाडा वृद्धि गरेको थियो । वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् ।

सार्वजनिक यातायातका साधनमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ तर पूर्ण सिट क्षमतामा यात्रु राखेपछि सामाजिक दूरी कायम हुन नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भाडा घटाएर पुरानै कामय गरिनु भनेको पूर्ण सिट क्षमतामा चलाउन भनेको दाबी गर्दै आजैबाट बसका सबै सिटमा यात्रु राखिएको जानकारी दिनुभयो । तर मन्त्रिपरिषद्को निर्णयले भाडा घटाए पनि सिट क्षमताको बारेमा कुनै निर्णय गरेको छैन । विभागले पनि भाडा घटाइएको सूचना सार्वजनिक गरेको छ तर पूरै सिटमा यात्रु राख्ने नराख्ने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

ट्राफिक प्रहरी प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार शनिबार ३ः०० बजेदेखि पूरै सिटमा यात्रु राख्न दिइएको छ । उहाँले भन्नुभयो, “आज ३ः०० बजेदेखि पुरानै व्यवस्थाअनुसार सार्वजनिक यातायात चलेका छन् । पुरानै भाडा र पूरै सिटमा यात्रु राखिएको छ । ” लामो तथा मध्यम दूरीका सवारीसाधनलाई मात्र पूरै सिट खुला गरिएको तर सहरी क्षेत्रका सार्वजनिक सवारीसाधनमा भने सिट क्षमताको आधा कायम गरिएको विभागले जनाएको छ । सार्वजनिक यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङको आवश्यकता नरहेको बताएका छन् । कोरोनाको प्रभावका कारण यात्रुको चाप नै नभएकाले अग्रिम जरुरी नरहेको महासङ्घले जनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?