Friday, October 18, 2024

ट्रेन्डिङ :

बजार सुनसान, छैनन् ग्राहक

दसैँको चहलपहल सुरु भए पनि यहाँका प्रमुख बजारमा भने खासै व्यापार हुन सकेको छैन । दसैँ, तिहार जस्ता ठुला चाडपर्वमा व्यापार राम्रो हुने व्यवसायीको आशा थियो तर यो पटकको दसैँमा खासै व्यापार व्यवसाय नभएको स्थानीय व्यापारीले बताएका छन् ।

दसैँतिहारकै लागि भनेर सामान ठुलो परिमाणमा पसलमा हाले पनि सो अनुसारको व्यापार हुन नसकेको गुनासो व्यापारीको छ । बागचौर नगरपालिका–२ मा रहेको थारमारे बजार सल्यानको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्र हो तर यसपालि खासै व्यापार नभएको स्थानीय व्यवसायी हरिलाल डिसीले बताउनुभयो । उहाँका अनुसार यसअघिका दसैँतिहारमा लत्ताकपडामा मात्र होइन, फर्निचरका सामान चाडपर्वमा बिक्री हुने गरेका थिए तर यस वर्ष भने व्यापार कम भयो ।

सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगर बजार अघिल्ला वर्षहरूमा निकै चहलपहल हुने बजारमा पथ्र्याे तर यस पटक यो बजार पनि सुनसान जस्तै छ ।  अरू बेला जे जस्तो भए पनि चाडपर्वमा केही कमाइ होला भन्ने आशा थियो तर यस पटक खासै व्यापार हुन नसकेको स्थानीय व्यवसायीले बताएका छन् । श्रीनगरका कपडा व्यापारी राजन थापाले चाडपर्वको समय भए पनि खासै व्यापार नभएको बताउनुभयो ।

यहाँका कपडा, जुत्ताचप्पल, भाँडाकुँडाको व्यापार गर्ने व्यवसायीले बैङ्कबाट ऋण लिएर दसैँतिहारलक्षित सामान थपेका छन् । श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष हपिस भण्डारीले ग्राहक आइरहेकोे भए पनि व्यापार भने पहिलेभन्दा आधाले घटेको  बताउनुभयो । उहाँका अनुसार यो पटकको व्यापार हेर्दा कोरोना कालको जस्तो मन्दी देखिएको छ । चाडपर्वका बेला ग्राहकको ठेलमठेल हुने श्रीनगरसँगै सदरमुकाम खलङ्गा, थारमारे, सल्लीबार जस्ता जिल्लाका प्रमुख बजारमा पनि खासै चहलपहल छैन ।  चाडपर्वमा व्यापार  राम्रो हुने अपेक्षा गरिए पनि यो वर्ष सन्तोषजनक व्यापार नभएको  उद्योग वाणिज्य सङ्घ सल्यानका उपाध्यक्ष राजेन्द्रकुमार थापाले बताउनुभयो । -गोरखापत्र अनलाइन 

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?