Wednesday, October 16, 2024

ट्रेन्डिङ :

टाउको नभएको शव फेला

बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा टाउको नभएको एक पुरुषको शव भेटिएको छ । ती पुरुषको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा हत्या गरिएको अवस्थामा शनिबार राति सो शव फेला परेको थियो ।

टाउको नभएको अवस्थामा फेला परेको शवको सनाखत स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको रूपमा भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ  । प्रहरीका अनुसार शवको सनाखत चन्द्रबहादुरका पिताले गर्नुभएको थियो । सो शव घरदेखि करिब ५०० मिटर टाढा फेला परेको थियो ।

राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर र नजिकैको प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले चन्द्रबहादुरको टाउको अझै नभेटिएको जनाउँदै प्रहरी परिचालन गरेर टाउको र हत्यारा दुवैको खोजी भइरहेको बताउनुभयो ।

प्रहरीले टाउको बिनाको शवलाई आवश्यक प्रक्रिया पुगाएर पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको छ । प्रहरीका अनुसार घटनास्थलदेखि करिब दुईसय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सिसिटिभी क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले झोलामा हत्या गरिएका चन्द्रबहादुरको टाउको रहेको हुनसक्ने आशङ्का गरेका छन् । राति नै प्रहरीले घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालय के नाईन शाखा कोहलपुरको तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेर अनुसन्धान सुरु गरेको थियो । सो घट्नाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?