Wednesday, October 16, 2024

ट्रेन्डिङ :

शान्ति सेनाको कार्यालयमा आक्रमणको भत्र्सना

लेबनानस्थित शान्ति सैनिकको कार्यस्थलमा भएको आक्रमणको नेपालसहित विभिन्न मुलुकले भत्र्सना गरेका छन् ।

लेबनानको संयुक्त राष्ट्रसङ्घीय मिसन (युनिफिल) मा इजरायलले आक्रमण गरेपछि त्यसको निन्दा गर्दै नेपालसहितका ३४ मुलुकले शान्ति सैनिक तथा मिसनको सुरक्षाको माग गरेका हुन् । नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले लेबनानको शान्ति सैनिकमाथि भएका आक्रमण तत्काल रोक्न अपिल गरेको छ । साथै मन्त्रालयले त्यस्ता अमानवीय आक्रमण तत्काल रोक्न र द्वन्द्वरत पक्षलाई शान्ति सैनिक र युनिफिलको समग्र सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरेको छ ।

आइतबार इजरायलले लेबनानस्थित शान्ति सैनिकको क्याम्पमा आक्रमण गरेपछि चौतर्फी निन्दा बढेको हो । नेपाल, बङ्गलादेश, चीन, ब्राजिल, कम्बोडिया, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हङ्गेरी, इन्डोनेसिया, आयरल्यान्ड, इटाली, काजकस्तान, दक्षिण कोरिया, लातभिया, मलेसिया, माल्टा, मङ्गोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरालियोन, स्पेन, श्रीलङ्का, टर्किए, बेलायत र तान्जनियाले संयुक्त रूपमा भत्र्सनापत्र जारी गरेका हुन् ।

सो संयुक्त वक्तव्यमा भनिएको छ, “सुरक्षा परिषद्को प्रक्रिया अनुसार दक्षिण लेबनान र मध्यपूर्वमा शान्ति स्थापनार्थ लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनको अन्तरिम बलका रूपमा योगदान गर्ने देशहरूका रूपमा हामी युनिफिलका मिसन तथा गतिविधिमा हाम्रो पूर्ण समर्थन जनाउँछौँ ।” “हामी युनिफिल र शान्ति सैनिकमाथि हालसालै भएका आक्रमणको कडा रूपमा निन्दा गर्दछौँ र त्यस्ता कार्य तत्काल रोकिनु पर्छ र त्यसको उचित छानबिन पनि हुनु पर्दछ,” वक्तव्यमा अगाडि भनिएको छ । साथै वक्तव्यमा द्वन्द्वरत पक्षलाई शान्ति सैनिक र युनिफिलको उपस्थितिको सम्मान गर्न पनि अपिल गरिएको छ ।

द्वन्द्वका पक्षलाई युनिफिलको उपस्थितिको सम्मान गर्न पनि उनीहरूले आग्रह गरेका छन् । त्यहाँ कार्यरत शान्ति सैनिकको सुरक्षाका साथै आमनागरिकको जीवन सुरक्षामा सघाउन अपिल गर्दै अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसङ्घको बडापत्र र सुरक्षा परिषद्मा पारित शान्ति प्रस्तावको सम्मान गर्न पनि संयुक्त वक्तव्यमार्फत माग गरिएको छ ।

इजरायल र गाजामा सीमित युद्ध बढ्दै गएर लेबनानसम्म सरेको छ । जसका कारण अन्य मुलुक र त्यहाँका नागरिकको सुरक्षा चुनौती थपिँदै गएको छ । गत वर्ष इजरायलमा हमास समूहले आक्रमण सुरु गरेपछि तनाव फैलँदै गएको हो । सो आक्रमणमा नेपालका विपिन जोशी अझै बेपत्ता छन् । अन्य १० जना नेपालीको ज्यान गएको थियो ।

नेपाल विश्वको शान्ति प्रक्रियामा सघाउन सबैभन्दा बढी शान्ति सैनिक पठाउने उत्कृष्ट एक नम्बरको सूचीमा रहेको मुलुक हो । लेबनानमा ८७७ नेपाली शान्ति सैनिक विभिन्न दर्जामा छन् । शान्ति सैनिकमा गएका कुल पाँच हजार ९१८ जना छन् । – गोरखापत्र अनलाइन 

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?