काठमाडौं। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका हुन् । महासचिव गुटर्रेसले सो बैठकमा भने, ‘अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ र यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।’
उनले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा पनि राखेका थिए । उनले यसअघि पनि केही महिना अघि मात्र यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन भनेका थिए । आफूले यस विषयमा पहल जारी राखेको पनि उनले सो बैठकमा जानकारी गराएका थिए । आफूले आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताको पक्षमा काम गर्न आफूले भनेको उनले जानकारी दिए ।
यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हुथी विदोही र सरकारलाई समर्थन गर्ने फौजको संघर्ष जारी छ ।