काठमाडौं- पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थपिएका छन् । योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । यो अवधिमा आठ हजार दुई सय ४८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दसैँ परेकाले अघिल्ला दुई दिन परीक्षण निकै घटेको थियो ।
त्यस्तै काठमाडौं उपत्यकामा बुधबार थप आठ सय ४३ जना कोरोनाबाट संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ९६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ललितपुरमा एक सय १८ जना र भक्तपुरमा २९ जना संक्रमित भएका छन् ।
यसैगरी आज २९ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । निको हुने दर ७५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर बुधबार १९ सय ५४ जना संक्रमित भएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।