काठमाडौं : कात्तिक २०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लामो समयदेखि देखिएको विवाद समाधान हुन सकेको छैन । पछिल्लो समय दुवै अध्यक्षले आ आफ्नो गुटमा जे पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई आन्तरिक निर्देशन दिइसकेका छन् ।
दुई अध्यक्षबीचको सहमति नै पार्टीको लागि निकास भएको भन्दै दोस्रो तहका नेताहरुले दबाब दिएपछि दुई अध्यक्षबीच छलफल हुँदैछ । छलफलका लागि दाहाल अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले ओलीले अध्यक्ष दाहाललाई छुट्टिने भए सल्लाहमै छुट्टिन र आफूले कुनै हालतमा राजीनामा नदिने बताएपछि पहिलोपल्ट भेट हुन लागेको हो ।