काठमाडौं : कात्तिक २३, नेपाल उद्योग वाणिज्य महासंघलाई चुनावी रौनकले छोएको छ । आगामी पदाधिकारी र कार्यकारिणी समिति सदस्यमा मनोनयन दिएकाहरु मत आ–आफ्नो पक्षमा पार्न लागि परेका छन् । महासंघको विगतको साधारणसभा जस्तै यसपटक पनि साधारणसभामा प्रत्यासीहरुले प्यानलसहित नै उमेदवारी दर्ता गराएका छन् ।
आगामी वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित नै उमेदवारी दर्ता गरिसकेका छन् । प्यानलसहित उमेदवारी घोषणा गरेका उमेदवारहरुलाई सहमतिको आधारमा अगाडि बढ्न पूर्वअध्यक्षहरुले आग्रह गर्दै आएका छन् । पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पूर्वअध्यक्षहरुको तर्फबाट सहमति गराउने भूमिका अगाडि बढाइरहेका छन् । निवर्तमान अध्यक्ष पशुपती मुरारका पनि सहमतिको प्रयास जारी रहेको बताउँछन् । कोभिडको कारणले पनि सहमति गरी अगाडि बढ्नुु नै उपयुक्त हुने उनले बताए । त्यसो त सहमतिका लागि वरिष्ठ उपाध्यक्षमा दुवै उमेदवार ढकाल र प्रधान पनि सहमत छन् । तर, सहमतिका लागि एकले अर्कालाई छोड्नुपर्ने हुन्छ । कसले कसलाई छोड्ने भन्ने विषयमै कुरा अड्किएको देखिन्छ ।
महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि सहमतिका लागि आग्रह गरेका छन् । प्रजातान्त्रिक अभ्यासमा चुनावनै सर्वोत्तम तरिका भए पनि अहिलेको विषम परिस्थितिमा सहमति भएमा निजी क्षेत्रका लागि सुखद हुने उनले बताएका छन् । सहमतिको प्रयासलाई जारी गर्न पनि उनले आग्रह गरे । सहमतिका लागि अध्यक्ष भवानी राणाले पनि प्रयास गरिरहेको बताइन् । सहमतिका प्रयासहरु भइरहेका छन्, अहिले पनि सहमतिको सम्भावनाको अन्त्य भइनसकेको ढकाल र प्रधानले बताउँदै आएकाछन् ।