काठमाडौं : कात्तिक २३, दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ मा जागृती युवा समाज सर्मोलीले निशुल्क आधारभुत स्वास्थ्य, कृषि र पशु स्वास्थ शिबिर संचालन गर्ने भएपछि गाउँपालिकाले कार्यक्रममा रोक लगाएको छ । समाज सुधारका लागि युवा एकता अभियानको आयोजनामा लेकम गाउँपालिका वाड नम्बर १ सर्मोलिमा मंसिर ३ गते हुनैनाथ आधारभूत विद्यालय डोविगाउँ, मंसिर ४ गते श्री लटिनाथ आधारभूत विद्यालय चौड बित्थड र पन्चदेब आधारभुत बिद्यालय बिनखाली, मंसिर ५ केदारनाथ आधारभूत बिद्यालय बित्त्थड र मंसिर ६ गते मालिकार्जुन आधारभुत बिद्यालय बण्डोलीमा र मंसिर ८ गते बडिपुर माबि सर्मोलीमा शिबिर संचालन गर्ने तयारी गरेपछि गाउँपालिकाले अनुमती नदिएको कार्यक्रम संचालकहरुले गुनासो गरेका छन् ।
आधारभुत स्वास्थ्य शिबिरमा सुगर तथा समान्य रोगहरुका निःशुल्क औषधि बितरण, रक्तचाप जाँच, नियमित औषधि सेवन गर्ने दीर्घ रोगीहरुको लागि औषधि वितरण गर्ने, दाँत कान र घाँटी समस्याको चेक जाँच, चिकित्सकहरुद्वारा कोरोना तथा संक्रमणलगायतका रोगहरु सम्बन्धि सल्लाह सुझाव दिने, कृषि प्रशिक्षकद्वारा सल्लाह सुझाव तथा परामर्श दिनु साथै माटो परिक्षण, तरकारीको बीउँ बिजन निशुल्क वितरण गरिने, पशु चिकित्सक द्वारा सुझाव सल्लाह तथा परामर्श दिनुका साथै पशुमा लाग्ने सङ्क्रामक रोगको भ्याक्सिन तथा औषधि बितरण गर्ने तयारी पुगिसकेको पछि अन्तिम समयमाआएर गाउँपालिकाले कार्यक्रमलाई अनुमति नदिएपछि गाउँपालिकोको चर्को आलोचना हुन थालेको छ । आफुसँग कार्यक्रम गर्ने हुती नभएको र अरुले गरेको पनि देख्नै नसक्ने गाउँपालिकाको सामन्ती शैलीको जिल्लामा चर्को आलोचना भईरहेको छ ।