Sunday, September 8, 2024

ट्रेन्डिङ :

रोनाल्डोको दुई गोलले बार्सिलोनाको मैदानमा युभेन्ट्सको शानदार जित

एजेन्सी- युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो लेगको खेलमा २-० ले गुमाएको युभेन्ट्सलाई समूह विजेता बन्न कम्तीमा ३-१ को जित आवश्यक थियो । यस्तोमा युभेन्ट्सले क्लिनसिट राख्दै शानदार जित हात पार्दै समूह विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनायो । बार्सिलोना भने समूह उपविजेता बन्यो । ६ खेलबाट दुवै टिमले समान १५ अंक जोडे पनि हेट टु हेड मा युभेन्ट्स अगाडि रहेको हो ।

युभेन्ट्सका लागि रोनाल्डोले १३औं र ५२औं मिनेटमा पेनाल्टीमा गोल गरे । यस्तै वेस्टन म्याकेन्नीले २०औं मिनेटमा एक गोल गरे । ७५औं मिनेटमा लियोनार्दो बोनुचीले गरेको गोल भिएआर रेफ्रीले मान्यता नदिँदा युभेन्ट्सले गोल थप्ने अवसर गुमायो । बार्सिलोका कप्तान लिओनल मेसी र युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरि एक पटक आमने सामने हुँदा यस खेलले मैदान उत्रिनुअघि नै चर्चा पाएको थियो । सन् २०१८ पछि पहिलो पटक मेसी र रोनाल्डो एक अर्काविरुद्ध मैदान उत्रेका हुन् । कोरोना पोजेटिभ देखाउँदा रोनाल्डोले घरेलु मैदानमा पहिलो लेग गुमाएका थिए । तर दोस्रो लेगमा भने दुई गोल गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

उता मेसीले भने घरेलु मैदानमै गोल गर्न सकेनन् र टिमलाई हारबाट जोगाउन पनि सकेनन् । समूह जी कै अर्को खेलमा युक्रेनी क्लब डिनामो किभले पेरेन्सभारोसलाई १-० ले पराजित गर्दै समूह चरणमा पहिलो जित हात पारेर तेस्रो स्थान हासिल गरेको छ । डिनामोका लागि घरेलु मैदानमा ६०औं मिनेटमा पोपोभलले एक मात्र गोल गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?