Tuesday, March 11, 2025

ट्रेन्डिङ :

ओलीलाई कारबाही गर्नु अघि बालुवाटार पुगे प्रचण्ड

spot_img
spot_img

काठमाडौँ : पौष ५, सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्थायी कमिटी बैठक सञ्चालनका लागि आइतबार दिउँसो बालुवाटार पुगेका छन्। सरकारले संसद् विघटनको सिफारिस गरेपछि सचिवालयका नेताहरूसँग आफ्नो निवास खुमलटारमा छलफल गरेर दाहाल पार्टीको पूर्वनिर्धारित स्थायी कमिटी बैठकका लागि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए। त्यही बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक हुने भएको छ। बैठकका लागि नेकपाका अन्य नेता पनि बालुवाटार पुग्दै छन्।

सत्तारूढ नेकपामा आन्तरिक विवाद चर्किरहेकै बेला ओली पार्टीका कार्यकारी अध्यक्ष दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगेका थिए। उक्त छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए। उनी शुक्रबार पेरिसडाँडाको दाहाल–नेपाल पक्षको भेलामा सहभागी थिएनन्।

दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए। अध्यक्ष दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए।

गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको थियो। कोटेश्वर भेलापछि दाहालले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका थिए। छलफल स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको थिएन। ओलीले दुवै अध्यक्षका दस्तावेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका थिए।

बैठकअघि प्रचण्डले प्रधानमन्त्री ओलीसँँग बालुवाटारमा भेट गरेका छन्। प्रधानमन्त्रीले संसद बिघटनको प्रस्ताव गरे पनि राष्ट्रपतिबाट स्वीकृत भइनसकेका कारण प्रचण्डले ओलीलाई आफ्नो प्रस्ताव फिर्ता लिन अन्तिम चेतावनी दिने स्रोतले बतायो।

ओलीले आफ्नो सिफारिस फिर्ता लिन चाहेनन् भने स्थायी समिति बैठकले उनीमाथि अनुशासनको कार्वाही गर्ने तयारी गरेको छ। पार्टी कार्वाहीअघि प्रचण्डले ओलीलाई भेटेर अन्तिम चेतावनी दिएका हुन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?