Sunday, September 8, 2024

ट्रेन्डिङ :

आन्दोलनरत उखु किसान र सरकारबीच चारबुँदे सहमति

१३ पुस, काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ ।

यससँगै सर्लाही लगायतका जिल्लाबाट आएर काठमाडौंको माइतीघरमा धर्ना बसेका उखु किसाहरु आन्दोलन रोक्न तयार भएका छन् । ‘उद्योगीको बैंक खाता रोक्का गर्ने, यात्रामा प्रतिबन्ध लगाउने र २१ दिनभित्र सबै रकम भुक्तानी नभए जयजेथा राज्यले लिएर किसानलाई पैसा दिने समझदारी भयो’ उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले भने ।

सोमबार भएको सहमतिमा उखु किसानहरुको बक्यौता उठाउने जिम्मा मन्त्रालयले लिएको छ । साथै उखु किसानका अन्य समस्या समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलको जिम्मेवारी पनि सहमति पत्रमै किटान गरिएको छ, जसअनुसार बक्यौता रकमबारे किसानले गरेको दाबी र चिनी उद्योगीको दाबीबारे अध्ययन गरेर कार्यदलले सुझाव पेश गर्नेछ भने सरकारले तोकेको समर्थन मूल्य किसानले पाए नपाएको पनि हेर्नेछ ।

उखु तथा चिनीको उत्पादन, बजारीकरण, अनुदान रकम भुक्तानी, सुख्खा कट्टी जस्ता विषयमा किसान तथा उद्योगीले भोगेको समस्या पहिचन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका लागि सुझाव पेश गर्ने र किसानले मिलमा उखु बुझाएपछि पैसा तिर्ने समय अवधि किटान गर्ने विषयमा पनि सुझाव पेश गर्न भनिएको छ ।

१० सदस्यीय कार्यदलमा उद्योग, अर्थ, गृह, कृषि मन्त्रालयबाट एक/एक जना, उखु किसानबाट ३ जना, चिनी उत्पादक संघबाट एक र उखु किसान संघर्ष समितिबाट दुई जना प्रतिनिधि रहनेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?