काठमाडौं : १९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनसम्बन्धी रिटमा लिखित जवाफ पेश गर्दै संसद विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएकाले राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने अभ्यास रहेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन हुने विषय संसदीय शासन व्यवस्थाको अन्तरनिहीत मूल्य भएको जिकिर गरे । साथै, राजनीतिक परिवेशको मूल्याङ्कनका आधारमा प्रधानमन्त्रीले लिने निर्णय राजनीतिक रुपमा नै आम जनताले मूल्याङ्कन गर्ने विषय भएको पनि बताए ।
उक्त विषय न्याय निरुपणयोग्य मापदण्डभित्र नपर्ने भएको जनाउँदै ओलीले सो रिट खारेज भागी भएको जिकिर गरे ।
यसैबीच उहाँले वैकल्पिक सरकारको सम्भावना समेत नभएको र सरकार सञ्चालनको वैधानिक अधिकारलाई गैर संवैधानिक तवरले निरन्तर अवरोध भई काम गर्न नदिएको अवस्थामा संसद विघटन गर्ने बाध्यात्मक परिस्थिति आइपरेको पनि जिकिर गर्नुभएको छ ।