दार्चुला–तिङ्कर सडक निर्माण गर्न सेनाको टोली व्यास पुग्याे

0
252

दार्चुला- महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडक निर्माणका लागि नेपाली सेनाको टोली व्यास पुगेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सेनानी उज्जल राणाको नेतृत्वमा दक्ष प्राविधिक जनशक्ति सहितको टोली निर्माण स्थलमा गएको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ । गत साउन महिनाको अन्तिम साता दार्चुला सदरमुकाम खलंगा पुगेको नेपाली सेनाको टोली सडक निर्माणका लागि माघ ३० गते खलंगाबाट साइटतिर प्रस्थान गरेकोमा शनिबार निर्माण स्थलमा पुगेको छ । निर्माणका लागि आवश्यक प्रक्रियाहरु पूरा भएसँगै नेपाली सेनाको टोली आवश्यक बन्दोबस्तीका सामग्रीहरु सहित व्यास गएको हो । दार्चुला पुगेको निर्माण सामाग्री तथा बेस क्याम्प निर्माणका लागि चाहिने आवश्यक सामग्री समेत व्यास पठाइएको नेपाली सेनाले जनाएको छ । व्यास क्षेत्रका दुई स्थानमा बेस क्याम्प स्थापना गरि सडक निर्माणको काम शुरु गर्ने तयारी थालिएको प्रमुख सेनानी राणाले बताउनुभयो ।

नेपाल सरकारले घाँटिबगरदेखि तिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही अनुसार नेपाली सेनाको टोली निर्माणस्थलमा पुगिसकेको छ । खलंगादेखि व्यास गाउँपालिका–३ सम्म दार्चुला–तिङ्कर सडक योजनाले ४३ किलोमिटर सडकको ट्र्याक खोलेको छ । बाँकी ८७ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको टोली अहिले निर्माण स्थलमा गएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसअघि सेनाले घाँटीबगर इलाकाको घोडेटो बाटो सम्पन्न गरे पनि अहिले भने अर्कै बाटो हुँदै सडक निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

२०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निर्णयले सेनालाई उक्त सडक निर्माण गर्ने जिम्मेवारी दिएको हो । सडक निर्माणको लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई वटा बेस क्याम्प राख्ने तयारी गरेको छ । पहिलो क्याम्प सुन्सेराभन्दा तीन किलोमिटर अघि रहेको छ । दार्चुला सदरमुकामबाट सुन्सेरा ४० किलोमिटर रहेको छ । सुन्सेराबाट तीन किलोमिटर अगाडिसम्मको बाटो यसअघि नै सडक विभागले खनिसकेको छ । सेनाले दोस्रो क्याम्प राख्न लागेको दुम्लिङ कोठेधारबाट १८ किलो मिटर माथि पर्छ ।

यस्तै छाङरु–तिङ्करसम्म पुग्नको लागि घोडेटो बाटो निर्माणको काम पनि सँगै अघि बढ्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलीडारले बोलपत्र आह्वान गरेको छ । अब व्यास गाउँपालिका–१ छाङरु–तिङ्करसँगै कालापानी क्षेत्रमा पुग्न सडक र घोरेटो बाटो निर्माणको काम एकसाथ अघि बढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो ।- गोरखापत्रबाट

ad

Leave a Reply