काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएको छ । सिंगो नेकपासँग सभामुखसहित रहेका १ सय ७३ सांसद थिए ।
नेकपाको अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल १ सय ३८ सांसद पुर्याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य देखिएको छ । जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् ।
बुधबार प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेटन बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने प्रचण्ड–नेपालसँग बताएका थिए ।