Tuesday, March 11, 2025

ट्रेन्डिङ :

नास्टलाई ४० करोडको बजेट

spot_img
spot_img

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले आर्थिक वर्ष २०७७/०७८का लागि ४० करोडको बजेट स्वीकृत गरेको छ । नेपाल सरकारको ३९ करोड ८ लाख, वैदेशिक तथा अन्य सहयोगबाट २१ लाख ९५ हजार तथा आन्तिरक स्रोतबाट ७० लाख गरेर कूल ३९ करोड ९९ लाख ९५ हजारको प्रस्तावित कार्यक्रम बजेटलाई स्वीकृति दिने निर्णय गरेको हो । प्राज्ञ सभाले प्रतिष्ठानको प्रदेश तहमा विशिष्टता सहितको अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालन नियमावली सम्बन्धी मस्यौदालाई २ महिनाभित्र परिमार्जन गरी ४५औं प्राज्ञ सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्राज्ञ सभामा नास्टका उपलकुलपति सुनिलबाबु श्रेष्ठले सेन्टर्स अफ एक्सिलेन्स, प्रविधि परीक्षण एवं सर्टिफिकेसन केन्द्रको स्थापना, राष्ट्रिय विज्ञान, प्रविधि, नवप्रवर्तन ज्ञान केन्द्रको स्थापना गर्नुका साथै लोबुचेस्थित पिरामिड प्रयोगशालालाई अन्तराष्ट्रिय उच्च पर्वतीय अनुसन्धान केन्द्रमा रुपान्तरण गरी सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

यसैबीच, नास्टको ४४औं प्राज्ञ सभाले २०७७ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्राज्ञ सभाले पोखरेलसहित विज्ञान प्रविधिका ११ भिन्न विधाका १७ व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । जस अनुसार डब्लूडब्लूएफलाई प्रकृति संरक्षण पुरस्कार, राष्ट्रिय आविष्कार केन्द्रलाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, वातावरण अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठलाई विज्ञान पुरस्कार, शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनलाई प्रविधि पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री एवं नास्टका कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका थिए । उनले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे । अहिलेसम्म हाम्रो गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीले बताए । ‘सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगेपछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो,’ उनको भनाइ थियो ।

करिब एक सय ११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडि परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गरे । यसबाट प्रेरणा लिँदै देशलाई हर क्षेत्रबाट अघि बढाउन आह्वान गरेका थिए । सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?