काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विदेशीहरुको अडेस लागेर नेपालको संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको बताएका छन् । १५० औं लेनिन जयन्ती तथा ७१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरमा गरिएको कार्यक्रममा दाहालले एक तिहाइ हुनेहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाए । केपी ओलीलाई इंग्गित गर्दै दाहालले भने, ‘कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौं । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौं । निकालेकै थियौं पार्टीबाट वैधानिक ढङ्गले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो ।’ पार्टी विभाजन रोक्न नसकिए पनि आफूहरु पराजित नभएको दाहालले दाबी गरे ।