Sunday, September 8, 2024

ट्रेन्डिङ :

सिद्धबाबामा सुरुङ मार्ग बनाउन टेन्डर आह्वान

काठमाडौ : सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु भएको छ। संघीय सरकारअन्तर्गत आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङ निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो। सडक विभागका उपमहानिर्देशक विजय जैसीले सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएको र त्यसका आधारमा प्रक्रिया अगाडि बढाएको बताए। ग्लोबल टेन्डर पाँच वर्षको समय तोकेर आह्वान भएको छ।

‘असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरूले बोलपत्र बुझाउनुपर्ने छ। ४५ दिनको समय राखेर सूचना सार्वजनिक गरिएको छ, त्यसपछि निर्माणको काम अगाडि बढ्नेछ,’ उपमहानिर्देशक जैसीले भने।

सडक विभागका अनुसार सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ। चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ। यो करिब एक हजार एक सय मिटरको हुनेछ।

मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेटको स्वीकृति दिएको थियो। सिद्धबाबा क्षेत्र करिब ५ किलोमिटर लम्बाइको छ। सुरुङ मार्ग आयोजनामध्ये १ हजार १ सय २६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन ‘रक सेड’ हुनेछ । माथिल्लो भागमा रक नेट र स्लोप प्रोटेक्सनलगायत कामसमेत हुनेछन्।

अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभाका सदस्य विष्णु पौडेलले सुरुङ मार्ग निर्माणमा रकम अभाव हुन नदिने र समयमै सम्पन्न गर्न जोड दिने बताए। सिद्धबाबा तराईबाट पश्चिम पहाड जोड्ने मुख्य मार्ग हो। यहाँबाट गुल्मी, अर्घाखाँची, स्याड्जा, बाग्लुङलगायत जिल्ला जाने गरिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?