Friday, September 20, 2024

ट्रेन्डिङ :

गठबन्धन दलहरुबीच अझै मिलेन भागबन्डा, भौतिक मन्त्रालयमा तीन दलको दाबी कायमै

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तारको अझै टुंगो भएको छैन। नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको पक्षमा भदौ २२ सम्म सनाखत चलिरहेकाले अझै एक साता मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून छ।

बिहीबार मात्रै एकीकृत समाजवादीको संसदीय दलका नेता माधवकुमार नेपालले सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै अझै एक साता मन्त्रिपरिषद् विस्तारबारे कोही नबोल्ने बताए। पाँच दलीय गठबन्धन अझै पनि सरकार विस्तार नगरेर अन्योलमा परेको छ। नेकपा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले भदौ २२ सम्म दिएको दल रोज्ने समयसीमायता मन्त्रिपरिषद् विस्तार नहुने भएको हो।

यस्तोमा मन्त्रिपरिषद् विस्तारका लागि भइरहेका गठबन्धन बैठकमा विकासे र ठूलो बजेट भएका मन्त्रालयलाई लिएर दलहरुबीच तानातान भइरहेको छ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि आवश्यक छलफल अघि बढाइरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लिएर तानातान सुरु भएको छ।

यो मन्त्रालयमा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि दाबी गरिरहेको छ।

यसअघि दुई पटक बसेको गठबन्धन बैठकमा यी तीनै दलका नेताले भौतिक मन्त्रालयले आफ्नै पोल्टामा आउनुपर्ने अडान राखेका छन्।

मन्त्रालयको भागवण्डा उठ्दा बढी बजेट भएका र विकासे मन्त्रालयलाई लिएर दलहरुबीच विवाद भएको हो। ‘कांग्रेसले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य पनि राखिसकेकाले भौतिकमा अन्य दलको नजर छ’, स्रोत भन्छ, ‘माओवादीले अर्थ र ऊर्जा लिइसकेको अवस्थामा भौतिकमा उपेन्द्र यादव र माधव नेपालले चर्को दाबी गरिरहेका छन्।’

यो मन्त्रालयमा माओवादीले पनि दाबी छाडेको छैन। सत्ता साझेदार दलहरु शक्तिशाली मन्त्रालय आफ्नो पक्षमा आउनुपर्ने अडानमा छन्।

बैठकमा माधव नेपालले दलहरुको सिट संख्या पनि हेरेर मन्त्रालय बाँडफाँट हुनुपर्ने मत राखेका छन्। उनले जसपाको भन्दा आफ्नो सिट संख्या झण्डै दोब्बर रहेको भन्दै त्यही अनुसार मन्त्रालय पाउनुपर्ने अडान राखेका छन्।

उनले त्यही आधारमा भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएका छन्। तर जसपा अध्यक्ष यादवले भने मन्त्रालयको संख्या बढाएर लिनेले शक्तिशाली मन्त्रालय खोज्न नहुने तर्क गरिरहेका छन्।

मन्त्रिपरिषद् विस्तारसहितका एजेण्डलाई लिएर बिहीबार पनि सत्तारुढ शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटार पुगेर प्रचण्डले देउवालाई भेटेका छन्।

सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच बिहीबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।

भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रचण्ड र नेकपा अध्यक्ष नेपाल र प्रचण्डबीच पनि भेटघाट भएको छ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटघाटमा उनीहरुबीच सरकारमा सहभागिताबारे छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?