बुटवल, १७ असोज
हिन्दुहरूका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वलाई लक्षित गर्दै ल्याइएको सुरक्षा योजना कार्यान्वयनसमेत भइसकेको प्रहरीको भनाइ छ ।
जिल्लाको शान्ति, सुरक्षालगायत ट्राफिक व्यवस्थापनका लागि कार्यालयले चाडपर्व अवधिभर ९४४ जना प्रहरी परिचालन गर्ने जनाइएको छ ।
योजनाअन्तर्गत कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विकृति, विसंगतिविरुद्ध प्रहरी परिचालन, सीमा क्षेत्रमा कडा जाँचको व्यवस्था गरी तस्करी गर्नेलाई कारबाही, प्रत्येक प्रहरी इकाइमा प्रहरी टोली (क्यूआरटी)को रूपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।
त्यस्तै, चाडपर्वको समयमा पटाका, आतसबाजीको प्रयोग हुन नदिन र यस्तो गर्नेलाई पक्राउ गरी कारबाही गर्न, सबै खाले जुवाजन्य खेलहरू, चन्दालगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन, राजमार्गहरूमा रातको समयमा सुरक्षा जाँचको व्यवस्था, बन्द रहने सरकारी कार्यालय, तथा संघसंस्थाका सुरक्षा गार्ड/कार्यालय सहयोगीहरूसंग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाउने डीएसपी थापाले जानकारी दिए ।
त्यसैगरी विगतमा भएका घटनाहरूलाई मध्यनजर गर्दै पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन, बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई सुरक्षित यात्राको प्रत्याभूति दिने, चाडपर्वको समयमा बढी भीडभाड हुने बजार, हाटबजारमा पैदल गस्ती, मोबाइल गस्ती गरी विभिन्न प्रकारका आपराधिक क्रियाकलापविरुद्ध प्रहरी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।