बागलुङ, ३१ असोज बागलुङको काठेखोला गाउँपालिकाले चार वर्षमा १५ सय मिटर सडक ढलान गरेको छ । स्थानीय तह कार्यालयमा आएको चार वर्षे अवधिमा एक हजार ५४६ मिटर सडक ढलान भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेशको समन्वयमा दुई खण्डमा गरी पाँच हजार पाँच सय कालोपत्रे गर्ने तयारी छ ।
तत्कालीन जिल्ला विकास समिति र गाउँविकास समिति हुँदा इन्जिनियरिङ्ग डिजाइनबिना निर्माण गरिएको कच्ची सडक नियमित सञ्चालन हुन कठिन भएपछि गाउँपालिकाले त्यसको गुणस्तर सुधार गर्दै कालोपत्रे गर्ने तयारी थालेको हो ।
कच्ची सडक बर्खाको समयमा सञ्चालनमा आउनै नसक्ने भएपछि गाउँपालिकाले हरेक वडाका मुख्य सडकमा कच्ची नाली, साँघुरो तथा पहिरोको जोखिम क्षेत्रमा ग्याविन भर्ने कठिन घुम्ती फराकिलो बनाउनुका साथै धेरै उकालो र पानी बग्ने ठाउँमा हिम पाईप विछ्याने र सडक ढलान गरेको हो ।
तत्काललाई ग्रामिण सडकमा नियमित सवारी चल्न सक्ने गरी स्तरवृद्धि गरेको अध्यक्ष थापाको भनाइ छ । कालोपत्रेको लागि बजेट अभाव छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा चालु आर्थिक बर्षमा वडाका महत्वपूर्ण सडक पाँच किलो मिटर कालोपत्रे गर्ने योजना छ ।
अक्षतेदेखि, बिहुँ सुल्डाडा हुँदै लेखानी जाने सडकको ९८२ मिटर र बिहुँ जलजलादेखि रेश वडा कार्यालय जोड्ने सडकको जलजलासम्म साढे पाँच किलो मिटर सडक कालोपत्रे गरिएको छ । दुवै खण्डको सडक पूर्ण रुपमा कालोपत्रे हुन बाँकी छ ।
गाउँपालिकको कार्यालय जोडने गरी एकपाता, दोभिल्ला, सुल्डाँडा हुँदै अक्षते जोड्ने सडकलाई प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी अगाडि बढेको अध्यक्ष थापाको भनाइ छ । सडक योजना सञ्चालन गर्दा ५० प्रतिशत संरचनाको काम अनिवार्य गरिएको छ ।