नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्ने भएका छन् ।
आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।
यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिने छ ।
बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन् । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो ।
बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ ।