टेस्लाको शेयर वृद्धिको कारण एक दिनमा एलन मस्कको कमाई १० अर्ब डलरले बढेपछि ३०० अर्ब डलरको नेटवर्थ थ्रेसहोल्ड पार गर्ने उनी विश्वको पहिलो व्यक्ति बनेका छन् ।
बिहीवार मस्कको व्यक्तिगत सम्प्ति ३०२ अर्ब अमेरिकी डलर नाघेको छ । कार रेन्टल कम्पनी हर्जसँगको डिलपछि टेस्ला कम्पनीको शेयर मूल्य बढेको थियो, जसले गर्दा मस्कको पनि कमाइ बढेको हो ।
योसँगै मस्कको कमाइ विश्वकै दोस्रो धनी व्यक्ति अमेजनका संस्थापक जेफ बेजोसको भन्दा १०० अर्ब डलर बढी भएको छ ।
मस्कको कमाइ अब इजिप्ट, पोर्जुगल, चेक रिपब्लिक, ग्रिस, कतार र फिनल्यान्ड जस्ता देशको वार्षिक कुल ग्राहस्थ उत्पादनभन्दा धेरै भएको छ । उनको व्यक्तिगत नाफा नै उनी आफैं सहसंस्थापक भएको कम्पनी पेपालको बजार मूल्यभन्दा बढी भएको छ ।
यसैबीच शुक्रबार माइक्रोसफ्ट विश्वै धेरै शेयर मूल्य भएको कम्पनी बन्न सफल भएको छ । विश्व बजारमा एप्पलको शेयर घटेपछि माइक्रोसफ्टको शेयर मूल्य १.१ प्रतिशतले बढेको हो ।