सरकारले दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारको निर्णयले बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पिडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको भनाई छ ।
‘नेपाल सरकारलाई दुहुँ गाउँपालिको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं,’ उनले भने,‘उक्त निर्णय पारित गर्न विशेष पहल गर्नुहुने मन्त्री दिलेन्द्र प्रसाद बडु ज्यूलाई धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छौं ।’
गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको उनले बताए । ‘अब सरकारले पुनःस्थापना र पुर्ननिर्माणका लागि विशेष प्याकेज ल्याउनेछ,’ उनले भने, ‘गृहमन्त्रालयले भौतिक संरचना निर्माणका लागि छुट्टै कार्यक्रम सञ्चालन गरी बजेट दिन्छौ भनेको छ ।’