तनहुँ, ५ मंसिर
९ माघ २०५८ को विहान झिसमिसेमै पोखराको फुलबारी व्यारेकबाट सेनाको टोली आएर घर घेराऊ गरे । कास्कीको पोखरा महानगरपालिका–३२ खुदीखोलाको सुकुम्बासी टोलमा रहेको घरमा सुतिरहेका टंकप्रसाद शर्मालाई सेनाको टोलीले पक्रियो । फुलबारी ब्यारेकबाट क्याप्टेन उत्तम थापा क्षेत्री नेतृत्वमा आएको टोलीले टंकप्रसाद सहित सुकुम्बासी बस्तीबाट नौ जनालाई हातखुट्टा बाँधेर आँखामा कालोपट्टी लगाएर कुट्दै लगे ।
पक्राउ परेको केही दिनअगाडि गगनगौँडामा रहेको प्रहरी बिटमा तत्कालीन विद्रोही माओवादीले आक्रमण गरेको थियो । आक्रमणमा संग्लन भएको आंशकामा सकुम्बासी बस्ती छिरेर सोधपुछका लागि नौ जनालाई सेनाले पक्रिएको थियो । पक्राउ परेका अरु आठ जनालाई सेनाले छाडिदियो, घर फर्किए । सोधपुछ गरेर पठाइदिन्छौ भनेर सेनाको टोलीले लगेको टंकप्रसादलाई २० बर्षदेखि फिर्ता गरेको छैन । उनी अझै वेपत्ता छन् । न उनको लास भेटिएको छ न त सास नै ।
‘फुलबारी ब्यारेकमा लगेछ भन्ने थाहा भएपछि दिनदिनै जसो ब्यारेकको गेटमा पुगेर उहाँको अवस्था के छ भनेर सोधपुछ गर्थे । यहाँ ल्याएको छैन भनेर जवाफ दिन्थे,’ टंकप्रसादकी पत्नी आरती शर्मा सम्झन्छिन् । आरतीले १० बर्षे सशस्त्र जनयुद्धका बेला वेपत्ता पारिएका श्रीमान खोज्दा खोज्दै २० बर्ष बिताएकी छन् । पुग्नपर्ने ठाउँ पुगिन्, भेट्नुपर्ने मान्छे भेटिन उनले । तर अझै पनि श्रीमानको केही पत्तो पाएकी छैनन् । टंकलाई पक्रेर लग्ने सुरक्षाकर्मीविरुद्ध आरतीले पटक पटक जाहेरी दिन खोज्छिन् । प्रहरीले इन्कार गर्छ । न्याय माग्दै अदालतको ढोका ढक्ढक्याउँदा पनि उनको चित्कार सुनिँदैन ।
जतिबेला टंकप्रसाद पक्राउ परेका थिए त्यतिबेला नेकपा माओवादी शसस्त्र द्वन्द्वमा होमिरहेको थियो । ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता गरी १० बर्षे द्वन्द्वकालको समापन गर्दै माओवादीले हतियार बिसाएको थियो । हतियारको राजनीति छाडेर माओवादीले शान्ति सम्झौता रोजेको आइतबार १५ बर्ष पुगेको छ ।
यो अवधीमा माओवादी केन्द्रले पटक–पटक सत्ताको स्वाद चाख्यो । जुन पार्टीमा लागेको आशंकामा टंकप्रसाद वेपत्ता भए त्यही पार्टी सत्ताको भर्याङ चढ्दा अपेक्षा गरेजस्तो आफ्नो घाउमा मल्हम लगाउने काम नगरेको आरती बताउँछिन् । वेपत्ताको स्थिति सार्वजनिक गर्नलाई पहल नभएको उनको गुनासो छ । २०औँ बर्षसम्म वेपत्ताको स्थिति सार्वजनिक नहुँदा चर्किरहने आलो घाउ बनरे विझाइरहेको छ । घाउलाई निको पार्ने मल्हम लगाउने भूमिका राज्य र पार्टी दुबैले नखेलेको उनको भनाइ छ । ‘हामीले गर्दा नै नेता सत्तामा पुगे । हामी नेतालाई सत्तामा पुर्याउने भर्याङमात्र भइयो । सबै पार्टीका नेता मिलेर वेपत्ताको खोजी गर्ने हो भने समय लाग्दैन । वेपत्ताको स्थिति पत्ता लगाउन सकिहाल्छन् नि,’ उनले भनिन् ।
वेपत्ता छानविन आयोगले केही गर्ला भनेर आशा पलाएको थियो रे उनलाई । तर आयोगले पनि गर्न केही सकेन सोधपुछबाहेक । ‘आयोग बने पनि पनि काम गर्दागदै समय सकिन्छ, थप हुँदैन । आयोगसँग आश लागेको थियो हामीले चाहेको होला भनेर । त्यत्तिकै भयो,’ आखाँबाट आसु खसाल्दै उनी भन्छिन्, ‘कम्तीमा भए सास, नभए लास मात्रै दिए पनि ढुक्क हुन्थ्यो । काजकिरिया गर्न त पाइन्थो ।’
आरती आफ्ना श्रीमान एक दिन अवश्य फर्किआउने आशा बोकेर बाँचिरहेकी छन्, खोजिरहेकी छन् । श्रीमानलाई सेनाले पक्रेर लगेको खुदीखोलाको सकुम्बासी बस्तीबाट आरती हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बसाई सरेकी छन् । सरकारले बेपत्ता परिवारलाई दिएको १० लाख रुपैयाँ राहतमा थपथाप गरेर पृथ्वी राजमार्गको छेउैमा घर बनाएकी छन् । गुजारा चलाउनलाई घरमै किराना पसल चलाउँछिन् । दिनभरजसो उनी पसलमै भेटिन्छन् । जतिबेला पनि उनको नजर घर अगाडिको पृथ्वी राजमार्गमा हुईकिएका सवारीतिर परिरहन्छ । ‘कुनै दिन यहीँ बाटो गुडिरहेको गाडीबाट झरेर आरती म आए भन्दै टंक आउनेछन्,’ उनीसँग यही आशाको त्यान्द्रो सहारा बनेको छ ।
शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका श्रीराम घिमिरे पनि २२ बर्षदेखि बेपत्ता छन् । माओवादीको जनयुद्धमा होमिएका उनलाई १ बैशाख २०५६ मा दंगा प्रहरीले तनहुँको वरभञ्जयाङ नागनागिनीबाट नियन्त्रणमा लिएर वेपत्ता बनाएको हो । वेपत्ता भएको २२ बर्षसम्म श्रीमती सर्वदा खनाल श्रीमानको अवस्था सार्वजनिक गर्न माग गर्दै नपुगेको निकाय सायदै होला ।
सर्वोच्च अदालतको शरणमा पनि पुगिछन् एकपटक । सर्वोच्चले उनलाई लाजमर्दो जवाफ दिएछ, ‘आफ्नो मान्छे आफैँ खोज्नुहोला’ । ‘त्यतिबेलाको सरकारले नबोलेपछि सधैँभरी घाउ आलो भइरहेको छ । सास रहुन्जेल आश हुन्छ भनेझैं भइरहेको छ । वेपत्ताको अवस्था सार्वजनिक गर्न पार्टीले पनि राम्रो भूमिका खेलेन् । सरकारमा गएपछि एउटा पोल खुल्दा अर्को पोल पनि खुल्छ भनेर हो कि ?’ उनको आशंका छ ।
श्रीमान कहाँ होलान ? अवस्था के होला ? उनलाई सधैँभरी छट्पटि भइरहन्छ । अवस्था सार्वजनिक गरेर पीडितलाई राहत र पीडकलाई कारवाही नभएसम्म सन्तोष नमिल्ने उनको भनाइ छ । ‘कस्ले गिरफ्तार गर्यो ? कहाँ लगियो सबै प्रमाण दिएका पनि छौं । वेपत्ता छानविन आयोगले पनि काम गर्न सकेन् । सत्यतथ्य बाहिर आएन । कहाँनेर के अड्कियो बुझ्न सकेका छैनौं,’ उनले भनिन् ।
१० बर्षे सशस्त्र जनयुद्धमा तनहुँका ६६ जना शहीद बने । १७ जना विद्रोही र राज्यपक्षबाट बेपत्ता भएका छन् । चार जना जिल्ला बाहिरका तनहुँबाट बेपत्ता भएको तथ्यांक छ । विद्रोही पार्टी नेकपा माओवादी र नेपाल सरकारबीच ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौता भएर विद्रोही पार्टीले सत्तारोहण गर्दा शहीद, वेपत्ता र द्वन्द्व पीडित परिवारमा आशा पलाएको थियो वेपत्ताको खोजविन र अवस्था सार्वजनिक होला भनेर । आशा अहिले निराशामा बद्लिएको छ ।
शहीद, बेपत्ता नागरिक, पूर्व लडाकु, द्वन्द्वमा घाइते भएकाको समस्या जस्ताको तस्तै छ अझै पनि । केवल उनीहरु नेता सत्तारोहणको भर्याङमात्र सावित भएका छन् । राज्यले वेपत्ता नागरिकको लागि काम गर्नै नसकेको बताउँछन् वेपत्ता परिवारका सदस्य भानु नगरपालिका–१ भन्सारका रामचन्द्र मिश्र । ‘वेपत्ता परिवारको अपेक्षाअनुसार काम भएन । राहत दिने काम भयो । खोजविन गर्ने काम धिमा गतिमा भएको छ । यो १५ वर्षमा त अवस्था के छ पत्ता लगाई दोषीलाई कारवाही गर्नुपर्ने थियो । यदि राज्यले चाहेको भए यो काम गर्न सक्थ्यो पनि । पार्टीले पनि राज्यलाई झक्झकाई रहनुपर्ने । त्यसो हुन सकेन’, मिश्रले भने ।