काठमाडौं महानगरपालिकाले अघिल्लो वर्ष नै खरिद सम्झौता गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । इन्डोनेसिया कम्पनीमा निर्मित तीनवटा दमकल वीरगञ्ज भन्सार कार्यालयमा आइपुगिसकेको र भोलिसम्ममा उक्त दमकल काठमाडौं आइपुग्ने महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जनकारी दिए ।
अघिल्लो वर्ष २०७८ साउन ३ गते मेयर विद्यासुन्दर शाक्यले महानगरको आफ्नै लगानीमा तीनवटा दमकल खरिद गर्न इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए । ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख ७५ हजार ९३३ अमेरिकी डलर (करिब ६ करोड ९१ लाख रुपैयाँ) मा सम्झौता भएको थियो । सोही सम्झौता बमोजिमको दमकल नेपाल आएको श्रेष्ठले जानकारी दिए ।
हाल काठमाडौं महानगरपालिकामा विभिन्न देशहरुले अनुदानमा दिएका ६ वटा दमकल रहेका छन् । जसमध्ये तीनवटा काम गर्ने अवस्थामा र बाँकी ३ वटा काम गर्न नसक्ने भएपछि त्यसै थन्किएको महानगरको भनाइ छ ।
योसँगै महानगरपालिकाले यसै चालु आर्थिक वर्षमा समेत थप तीनवटा दमकल खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रति गोटा ६५ लाख रुपैयाँ गरी तीन वटाका दमकलका लागि करिब २ करोड रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ ।