रुपन्देही । रुपन्देहीमा एक युवकले गर्भवती प्रेमिकाको हत्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ। दुई वर्षपहिले सैनामैना नगरपालिका ११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृत भेटिएकी युवतीको हालै सनाखत भएको हो। उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।
हत्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशीराम मुराउलाई प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नी प्रेमिका ३४ वर्षीया कुमारी अर्यालको हत्या गरेको प्रहरीले जनाएको छ। कुमारी विवाहित हुन्। उनका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका काशीरामको गर्भसमेत रहेको खुलेको छ। गर्भपतन गर्न नमान्दा काशीरामले हत्या गरेको प्रहरीको दाबी छ। तर हत्या भएको दुई वर्षसम्म पनि शवको सनाखत हुन नसक्दा हत्यारा पत्ता लाग्न सकेको थिएन।