Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

सिक्टा परियोजना : १६ वर्षमा १९ अर्ब खर्च, १४ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइ सुविधा

spot_img
spot_img

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको लक्ष्य बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने थियो । तर, निर्माण कार्य सुरु भएको १६ वर्षमा १९ अर्ब रुपैयाँ खर्च भइसक्दा पनि आयोजनाले लक्ष्य लिएको मध्ये करिब १४ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइ सुविधा पुगेको छ ।

अर्थात् ८५.७३ प्रतिशत (३६ हजार ६६६ हेक्टरमा) मा आयोजनाले पुर्‍याउनुपर्ने व्यवस्थित सिंचाइ सुविधा अहिलेसम्म पुग्नसकेको छैन । हालसम्म पूर्वी नहरको राजकुलो र फत्तेपुर लिंक नहरबाट करिब ४ हजार हेक्टरमा र पश्चिमतर्फ सिधनिया नहरबाट करिब २१०० हेक्टरमा मात्रै व्यवस्थित सिंचाइ सुविधा पुगेको छ । नहर निर्माणमा ढिलाइ र शृंखलाबद्ध रूपमा भएका बद्मासीका कारण आयोजनाका नाममा राज्यको ढुकुटीबाट पैसा बग्ने तर नहरमा पानी नबग्ने विडम्बनापूर्ण स्थिति छ । राष्ट्रिय गौरवको आयोजना भनिए पनि सिक्टा सिंचाइको काम गर्ने शैलीमा कुनै नयाँपन र गति छैन । जसका कारण आयोजनामा नेपाल सरकारले जति लगानी गरेको छ प्रतिफल भने नगन्य छ ।

४५ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसके पनि पश्चिम मूल नहरको ३३ हजार ७६६ हेक्टर कमान्ड क्षेत्रमध्ये सिधनिया शाखा नहर भन्दा अन्य शाखा–प्रशाखा नहर निर्माण हुनसकेको छैन । शाखा नहर नबन्दा मूल नहर किनाराका किसानले मोटर पम्पबाट पानी तानेर आफ्नो खेतबारीमा सिंचाइ गर्दै आएका छन् ।

आयोजनाको ठूलो खर्च लाग्ने मुख्य संरचना बनाउने तर तत्काल किसानलाई फाइदा हुने र सानो खर्चमा निर्माण सम्पन्न हुने शाखा तथा प्रशाखा नहर नबनाउने गलत रणनीतिका कारण १९ अर्ब खर्च भइसक्दा पनि आयोजनाबाट ठूलो संख्यामा किसानले सिंचाइ सुविधा पाउन सकिरहेका छैनन् ।

१६ हजार हेक्टरमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको डडुवा शाखा नहरको निर्माण कार्य आयोजना र निर्माण कम्पनी कोष्टल पप्पु जेभी बीचको विवाद र मुद्दा मामिलाका कारण चार वर्षदेखि अलपत्र छ । 

आयोजनाको पहिलो गुरुयोजनाका अनुसार, २०६२ सालमा निर्माण कार्य सुरु भएको सिक्टा सिंचाइ आयोजना १२ अर्ब ७० करोड लागतमा २०७० को माघसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

लक्ष्य अनुसार काम हुन नसकेपछि आयोजनाको गुरुयोजना परिमार्जन गरी २५ अर्ब ९ करोडको लागतमा आर्थिक वर्ष २०८४/८५ मा पूरा गर्ने लक्ष्य राखियो । तर, आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा १९ अर्ब ३४ करोड रुपैयाँ खर्च हुँदा आयोजनाको निर्माण कार्य करिब साढे ७२ प्रतिशत मात्रै सकिएको छ ।

पछिल्ला वर्षहरूमा बर्सेनि एक डेढ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने र विनियोजित बजेट पनि खर्च गर्न नसक्ने अवस्थाले आयोजनाको लागत बढ्दै जाने तर किसानले सिंचाइ सुविधा नपाउने विडम्बनापूर्ण अवस्थामा सिक्टा सिंचाइ आयोजना गुज्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सिक्टाका लागि विनियोजन भएको १ अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपैयाँ फ्रिज भयो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?