नेपालगन्ज । उमेदवार छनोटको विषयलाई लिएर बाँकेका क्षेत्र नम्बर ३ (क) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको सिफारिसलाई वास्ता नगरी पार्टीको पद्धतिभन्दा बाहिर गएर उमेदवार छनोट गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाएका छन् । निर्वाचनमा उमेदवार छनोटको लागि प्रदेश कमिटीले गरेको सिफारिस र उमेदवार छनोट कार्यविधि विपरीत पार्टीको माथिल्लो कमिटीबाट जर्बरजस्त रुपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।
माओवादीको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र बाँके क्षेत्र नम्बर ३ (क) समन्वय समिति अध्यक्ष र सचिवले सहितका नेताले सामूहिक राजिनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका छन् । गठबन्धन भएको बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर उम्मेदवार छन् । प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ (क) बाट माओवादी केन्द्र इन्द्रबहादुर खरेल (आइपी) र (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी उमेदवार छन् ।
पार्टीको केन्द्रले उमेदवार छनोट गर्दा स्थानीय तहको भावना विपरीत गरेको भन्दै असन्तुष्टि जनाउनेमा माओवादी क्षेत्रीय समन्वय समिति बाँके क्षेत्र नम्बर ३ (क) संयोजक दिपेन्द्र बहादुर शाह, सचिव महेन्द्र बहादुर शाहीलगायत रहेका छन् । उनीहरुले दिएको राजीनामालाई समर्थन जनाउँदै माओवादी बैजनाथ गाउँपालिका समिति अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले ऐक्यवद्धता जनाएका छन् । माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्बर विक तुफानले स्थानीय तहका नेताहरुले उमेदवार छनोटको विषयलाई लिएर केहि असन्तुष्टि जनाएको विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताए । बाँके क्षेत्र नम्बर ३ (क) का उमेदवार खरेलले चुनावका बेला यस्ता घटना र असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढने तयारी भैरहेको बताए ।