परिचय
नेपाल प्राकृतिक र सांस्कृतिक रुपले अत्यन्त सुन्दर भूस्वर्ग हो । नेपाली जनताहरुको हँसिलो अनुहार नै धेरै पर्यटकको नेपाल भ्रमण गर्ने पहिलो कारण हो । हाम्रो ग्रामीण आत्मियता, पर्यटन सुरक्षा, हँसिलो आथित्यता नै हाम्रो पर्यटन विकासको महत्वपूर्ण कडी हो । पटक पटक नेपाल भ्रमण गर्ने पर्यटकको भनाइ अनुसार नेपालको पर्यटन सुरक्षा अन्य देशको भन्दा राम्रो छ । यो नि:शुल्क पाइएको अत्यन्त मुल्यवान सम्पत्ति सुन्दरता, हंसिलोपन, र सुरक्षित वातावरणलाई पर्यटनको उत्पादनसंग किन जोडन सकिएको छैन ? अर्थशास्त्रको भाषामा भन्ने हो भने “उपलब्ध सम्पतिलाई पुंजीकरण गर्न नसक्नु – ज्ञानको व्यवस्थापनको कमि हो ।” श्रोत परिचालनमा अवरोध पुर्याउने कानुनि प्राबधान, आलस्यता, र भ्रष्ट आचरण नै पर्यटन विकासको अवरोध हो ।
हरेक पालिका तह देखि नै प्रमुख पर्यटकीय गन्तव्य निर्धारण गर्दै, एकीकृत पर्यटन विकास गर्दै, सार्वजनिक–निजी–सहकारी साझेदारी प्रणालीको माध्यमले पर्यटन विविधीकरणका लागि सबै भन्दा पहिला पर्यटन विकास समिति निर्माण गर्नु आवस्यक छ । उक्त समितिले आवश्यक पर्यटन मैत्री पूर्वाधार निर्माण योजना गर्ने र स्थानीय व्यक्तिहरूको पेसा व्यवसायलाई पर्यटन क्षेत्रसँग सम्बन्धित बनाउने नीति, योजना, कार्यक्रमगत नतिजाको नेतृत्वकारी र समन्वयकारी भूमिका खेल्नु पर्दछ । स्थानीय प्लस टु तथा क्याम्पसमा पर्यटन शिक्षा संचालन गर्नु पर्दछ ।
नेपाल के हो ? नेपाल किन जाने ? नेपाल गएर के गर्ने ? प्रश्नको उत्तर प्याकेजिंग गर्दै सकारात्मक ब्र्यांडीन्ग गर्नु आजको प्रमुख आवस्यकता हो । यसको लागि सक्षम मानव संसाधन आवस्यक पर्दछ । जानकारहरू विश्व बजारमा नेपालले आफूलाई ‘ब्रान्डिङ’ गर्नै नसकेको तर्क गर्छन् । पर्यटन व्यवसायी वसन्त मिश्र भन्छन्, “विश्व बजारमा मार्केटिङ, देशभित्र पूर्वाधार निर्माणमा गम्भीर र दरिलो रूपमा काम हुन सकेको छैन”। नेपालमा पर्यटन मानव संसाधनको अवस्था के छ ? कुनकुन कामका लागि कतिकति जना केके आवस्यक पर्दछ ? नेपालको सम्पूर्ण पर्यटन क्षेत्रको मानव संसाधनको लेखाजोखा नै नेपालको पर्यटन मानव संसाधन हो ।
पर्यटन तथ्यांक
होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले भने सन् २०२२ मा २५ लाख पर्यटक धान्ने होटलको क्षमता रहेको छ । हानको विवरणमा सबैखाले होटल गरी चार हजार छन् । दुई जना पर्यटकले एक जनालाई रोजगारी (प्रतक्ष्य-अप्रतक्ष्य) प्रदान गर्दछ । २५ लाख पर्यटन धान्न १२ लाख ५० हजार होटेल व्यवस्थापन सम्बन्धि मानव संसाधन आवस्यक देखिन्छ । यति क्षमता छ भन्नाले हामी संग १२ लाख ५० हजार उपलब्ध छन । तर अहिले सम्मकै उच्चतम पर्यटन आगमन १२ लाख मात्रै हो । भन्नाले ६ लाख व्यक्तिले २०१९मा पर्यटन क्षेत्रमा रोजगारी पाएका थिए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोला आन्तरिक मात्र हैन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक ( ६ लाख) नेपाल भित्रिएका छन् । पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले मुलुकको पर्यटन बिस्तारै लयमा फर्किरहेको उल्लेख गर्दै पर्यटक आगमनको आँकडाले पर्यटन पुनरुत्थानको दिशातर्फ उन्मुख रहेको बताए । सन् २०२१ को तथ्यांक अनुसार नेपालमा एक जना पर्यटकको औसत बसाइ १५.१ दिन रहेको छ । एक पर्यटकले नेपालमा प्रतिदिन ६५ डलर खर्च गरेको देखिन्छ । मात्र १०.३% पर्यटक ट्रेकिंग तथा साहसिक पर्यटनका लागि आएका छन् । बिगत बर्ष भन्दा घट्दै गएको देखिन्छ । आर्थिक सर्वेक्षण २०७८/०७९ अनुरुप ६६.८ % मनोरंजन १५.६ % तिर्थयात्री, १२.४ % पदयात्रा र पर्वतारोहण, र ११.५ % अन्य प्रयोजनका लागि नेपाल भ्रमण गर्ने गरेका छन् । नेपाल सरकारले पर्यटकको मनोरंजनका लागि ६६.८ %, त्यस्तै १५.६ % तिर्थयात्री, १२.४ % पदयात्रा र पर्वतारोहण, र ११.५ % अन्य क्षेत्रमा बजेट खर्च गर्नु पर्दछ । यद्दपी पर्वतारोहण क्षेत्रबाट प्रसस्त राजश्व आम्दानी हुन्छ त्यसैले यो क्षेत्रमा लगानी बढाउनु उपयुक्त हुन्छ । यद्दपी पर्यटन विकास पर्यटन मानव संसाधन विकासमा नै आधारित हुन्छ ।
मानब संसाधन विकास संस्थाहरु
पर्यटन मानव संसाधन विकासको लागि नेपालको शिक्षा मन्त्रालय अन्तर्गत रहेका ४ वटा विश्वबिद्यालयका विभिन्न क्याम्पसहरुबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गराउने गरिएको छ । प्राबिधिक शिक्ष्यालयहरुबाट पर्यटन सम्बन्धि विभिन्न शिपमुलक तालिम उपलब्ध गराउने गरिएको छ । यसैगरी उच्च माध्यामिक शिक्षा परिषदका बिभिन्न बिद्यालयहरुबाट पर्यटन सम्बन्धि प्लस २ शिक्षा उपलब्ध गराउंदै आइएको छ । यसैगरी विदेशी विश्वबिद्यालयबाट सम्बन्धन लिएर पनि धेरै शैक्षिक संघसंस्थाहरुले पर्यटन शिक्षा उपलब्ध गराई रहेका छन् । त्रिभुवन विश्वविद्यालयले प्रमुख रुपले व्यवस्थापन संकायअन्तर्गत र मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा टुरिजम एन्ड हस्पिटालिटी स्टडिज कार्यक्रम संचालन गर्दै आएको छ ।
पर्यटन मन्त्रालयले पनि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) तथा नेपाल माउन्टेन एकाडेमी मार्फत पर्यटन शिक्षा उपलब्ध गराउंदै आएको छ । सुरुमा सानो तालिम दिने संस्थाका रुपमा २०२९ सालमा स्थापित नाथम विसं २०५५ देखि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका रुपमा सञ्चालन हुँदै आएको छ । नाथमले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनबाट ब्याच्लर अफ होटल म्यानेजमेन्ट (बिएचएम), ब्याच्लर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) र मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएचएम) शैक्षिक कार्यक्रम चलाइरहेको छ । पर्यटकीय जनशक्ति उत्पादनमा काम गरिरहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले प्रदेशस्तरमा शाखा (नेपालगन्ज, बर्दिबास र बिर्तामोडमा कलेज) विस्तार गर्दै छ ।
पर्यटन मानव संसाधनको अवस्था
मन्त्रालयको तथ्यांक अनुसार हाल देशभर ४ हजार ५५७ टुर गाइड, १९ हजार १६६ ट्रेकिङ र ३२४ रिभर गाइडले लाइसेन्स लिइसकेका छन् । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा नाथमबाट २५२ जना विद्यार्थीले व्याचलर अफ होटल म्यानेजमेन्ट तथा १६८ जनाले व्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट उत्तीर्ण गरेका छन् । यसैगरी नेपाल माउन्टेन एकाडेमी मार्फत बिएमएस अर्थात् ब्याच्लर्स इन माउन्टेन स्टडिज अध्यापन हुनुका साथै ट्रेकिङ गाइड, स्किइङ आदिको प्रशिक्षण पनि दिइन्छ । हाल नेपालको ४ वटा विश्वबिद्यालय (त्रिभुवन, काठमान्डू, पोखरा, र पुर्वान्चल)बाट १२ वटा शैक्षिक कार्यक्रम ( स्नातक स्नातकोत्तर) संचालन गरिएको छ ।
नेपाल भ्रमण बर्ष २०२०को लक्ष्य २०लाख र २०२५मा २५ लाख नै पर्यटक भित्र्याउने नेपालको रास्ट्रिय लक्ष्य हो । यसै अनुरुप भौतिक पूर्वाधार निर्माण हुँदै गएका छन् । सोहि अनुरुप होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले भनेको सन् २०२२ मा २५ लाख पर्यटक धान्ने होटलको क्षमता रहेको छ भन्ने तथ्य स्वाभाविक छ । पर्यटनको लक्ष २५ लाख हो भने यसले प्रतक्ष्य र अप्रतक्ष्य गरेर १२ लाख ५० हजार रोजगार सृजना गर्दछ अथवा गर्नु पर्दछ । श्रम संसारको सबै भन्दा चलायमान श्रोत हो । सन् २०२२को पर्यटकको आगमन भनेको ६ लाख मात्रै हो । ६ लाख पर्यटकले उत्पादन गर्ने ३ लाख रोजगार मात्रै हो । यसैले सन् २०२२को नेपालको पर्यटन मानव संसाधन ३ लाख मात्रै हो । २५ लाख पर्यटकको लागि १२ लाख ५० हजार मानव संसाधन २०२३/ ०२४ को लागि आवस्यक पर्दछ । नेपालमा सबै विश्वबिद्यालयको लेखाजोखा गर्दा प्रतिवर्ष औसतमा १५ हजार जति पर्यटन मानवसंसाधन उत्पादन हुने गरेको देखिन्छ । त्यो तथ्यांक माग भन्दा धेरै कम हो ।
नेपालमा विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या ४ लाख ५० हजार छ । यसको ४६ % व्यवस्थापन संकायमा अध्यनरत छन् । यो ४६%को १०% मात्र पर्यटन शिक्षामा, लगभग २० हजार जना, भर्ना हुने गरेका छन् । ४ लाख ५० हजार मध्ये प्रति बर्ष १ लाख १४ हजार विद्यार्थी बैदेशिक अध्ययनमा जाने गरेका छन । त्यसैले यो संख्या अझै घटेर १५ हजार पुग्न सक्छ । पर्यटन मन्त्रालयले पर्यटन तथ्यांकमा यस्तो तथ्यांक बस्तुगत रुपमा राख्नु पर्ने देखिन्छ ।
प्रक्षेपण
पर्यटनको विकास भनेको पर्यटनको भित्रि तत्वको विकास हो । भित्रि तत्वको विकास गर्न उक्त तत्वका चालकहरुको विकास गर्नु हो । पर्यटन विकास भनेकै पर्यटन कार्यकर्ताको विकास गर्नु हो । सक्षम पर्यटन मानव संसाधन विकास नै पर्यटन विकास हो । सक्षम पर्यटन मानवले मात्रै सक्षमरुपले पर्यटनको विकास गर्न सक्दछ । पर्यटनका तत्वहरु (Components of Tourism) भन्नाले निश्चित क्षेत्रको बास ब्यवस्थापन (Accommodation), पहुँच (Accessibility), क्रियाकलाप (Activity), कार्यक्रम (Actions), भब्य सुबिधा (Amenity), सहायक सुबिधा (Ancillary), आवागमन (Arrival), र सुन्दरता (Attraction) भन्ने बुझिन्छ । नेपालको लागि बास ब्यवस्थापन (Accommodation)लाई ५०%, पहुँच (Accessibility)लाई १५%, क्रियाकलाप (Activity)लाई १०%, कार्यक्रम (Actions) लाई १०% , भब्य सुबिधा (Amenity) लाई २%, सहायक सुबिधा (Ancillary) लाई ५ %, आवागमन (Arrival) लाई ३ %, र सुन्दरता (Attraction) लाई ५% भार विश्लेशण गरिएको छ । तलको तालिकाले पर्यटनका तत्व, काम, भार,लक्ष्य,उपलब्ध, र अपुगहरु स्पस्ट पारेको छ ।
पर्यटन रोजगार प्रक्षेपण
पर्यटनका तत्वहरु | काम | भार | लक्ष्य | उपलब्ध | अपुग | |
१. | बास ब्यवस्थापन Accommodation) होटेल, लज, होमस्टे, क्याम्प, रेस्टुरेन्ट | कुक, म्यानेजर | ५०% | ६२५ | ३०० | ३२५ |
२. | पहुँच (Accessibility) बाटो, साधन, गाइड, पोटर अपरेटर | पाइलट, क्रुमेम्बर | १५% | १८८ | ९० | ९८ |
३. | क्रियाकलाप (Activity) पर्वतारोहण, सफारी, अवलोकन, यात्रा | आयोजक | १०% | १२५ | ६० | ६५ |
४. | कार्यक्रम (Actions) सरकारका पर्यटन विकास प्रवर्धन योजना | संचालक | १०% | १२५ | ६० | ६५ |
५. | भब्य सुबिधा (Amenity) द्वारिका, ससा, राजघराना | व्यवस्थापक | २% | २५ | १२ | १३ |
६. | सहायक सुबिधा (Ancillary) विमा, अकस्मात सेवा, बैंक | व्यवस्थापक | ५% | ६३ | ३० | ३३ |
७. | आवागमन (Arrival) समायोजन महिला, जेष्ट नागरिक, तिर्थालु | व्यवस्थापक | ३% | ३८ | १८ | २० |
८. | सुन्दरता (Attraction) प्राकृतिक / संस्कृतिक अनुसन्धान | अनुसन्धान | ५% | ६३ | ३० | ३३ |
जम्मा | १००% | १२५० | ६०० | ६५० |
(श्रोत: लेखकको अध्ययन)
निष्कर्ष
सम्पूर्ण अर्थतन्त्रको चालक पर्यटन हो । अर्थतन्त्र चलायमान बनाउन पर्यटन नै बढाउनु पर्दछ । पर्यटनको विकास गर्न पर्यटन मानव संसाधनको विकास गर्नै पर्छ । पर्यटनका ८ वटा माथि उल्लेखित तत्व नै पर्यटनका प्रमुख विधा हुन् । यिनै तत्वका आधारमा पर्यटनलाई बिभिन्न विधामा विभाजन गरेर अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपाललाई १२ लाख ५० हजार क्षमतापूर्ण पर्यटन मानव श्रोत आवस्यकता पर्दछ तर सामान्य लेखपढ मात्रै गर्ने क्षमता भएका लगभग ६ लाख जनाले नेपालको पर्यटन उद्योग संचालित छ । अन्य ६ लाख ५० हजार सक्षम जनशक्ति निर्माण गर्नु हामी सबैको दायित्व छ । देशको विकास पर्यटनबाट मात्रै सम्भव छ ।
अतिथि देवो भव:
(डा. बडाल नेपालको पर्यटन विषयमा अध्ययन अनुसन्धान गर्नुहुन्छ ।)