काठमाडौं । नेकपा माओवादी केन्द्रले बालकुमारी घटना स्वाभाविक नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले घटना रहस्यमय जस्तो देखिएको बताए । उनले भने, ‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो धेरै गम्भीर विषय हो । राज्य व्यवस्था समितिमा पनि छलफल भएको छ । घटना घटेको क्षणदेखि नै प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । हामीलाई पनि के लाग्छ भने घटनालाई रूप र सारमा हेर्नुपर्छ ।
जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर, गोली नै चल्नुपर्ने स्थिति नआउनुपर्ने लाग्छ । समग्र घटनाको कुरा गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षको आशय यो घटनाको गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । सबैले अध्ययन गर्नुपर्छ । तर, यो त्यति स्वाभाविक छैन, रहस्यमय छ ।’ उनले उत्तेजना फैलाए जस्तो रहेको भन्दै स्वाभाविक जस्तो नदेखिएको बताए । त्यसो त माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका थिए । शुक्रबार ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।