शिवरात्री आउँदैछ । विश्वभरबाट नागाबाबा तथा नागासाध्वीहरु पशुपतिनाथ आउने क्रम बढ्दैछ । को हुन् नागा ? यिनीहरुको के महत्व छ । यसले समाजमा विकृति त भित्र्याएको छैन ? धेरैको मनमा यो जिज्ञासा आएको हुन सक्छ । के हो नग्नता र यसको दर्शन ? यो दर्शन अत्यन्त रहस्यमय, गहन र विश्वव्यापी छ । यसले जीवनको लक्ष उद्धेस्य र मार्ग निर्धारण गरेको छ ।
शून्यता नै सृष्टिको पहिलो आधार हो । सुन्यतामा तरंग पैदा हुन्छ । तरंगमा घर्षण हुन्छ । घर्षणमा उर्जा प्राप्त हुन्छ । उर्जा धेरै भए पछि रुपान्तरण हुन्छ । अर्थात् ब्लास्ट (बिग ब्यांग) हुन्छ, सृष्टि हुन्छ , सृष्टिले विकास गर्छ । सृष्टिले अरु तरंग पैदा गर्छ, घर्षण पैदा गर्छ, र साथै उत्पादन गर्छ र सृष्टिको अन्त्य हुन्छ, सुन्यताको सिर्जना हुन्छ । यो चक्र निरन्तर चलिरहेको हुन्छ । यसैलाई विधिको विधान अथवा प्राकृतिक नियम भनिन्छ । सृष्टि हुन्छ, स्थिति हुन्छ, अन्त्य हुन्छ, फेरी सृष्टि स्थिति र प्रलयको चक्र चली रहन्छ । सानोमा सानो कण देखि ठुलोमा ठुलो निहारिका आकाशगंगा सम्म यहि क्रम चली रहेको हुन्छ । यो क्रम नै प्रकृतिवाद हो । संगीतको नाद अनुसार नृत्यको ताल र गीतको शब्द मिल्यो भने त्यो गीत अथवा त्यो नृत्य उत्कृष्ट हुन्छ । प्रकृतिसंग मिलेको संस्कृति नै उत्कृष्ट संस्कृति हुन्छ । भनिन्छ नि पृथ्वी, जल, अग्नि, वायु र आकाश मिलेर यो प्रकृति बनेको छ । यहि प्रकृतिको एउटा सानो संयुक्त अंस नै त हो यो जीवन । यहि माटोमा फुलेका फूल हामी यहि माटोमा मिल्नु छ । यहि धर्ती, यहि आकाश, यहि हावा यहि पानी, र यहि घामको रासायनिक एकता न हो यो जीवन । कपडा भित्र हामी सबै नग्न छौं । यौन विना सृष्टि असम्भव छ । यो सत्य हो । यो सत्यता लुकाउनु जरुरी छैन । यो समष्टिगत एकताको अथवा प्राकृतिक मानवको प्रतिरुप अथवा सुन्दर सत्य नै शिव हो । यो जीवनलाई प्रकृतिसंग जोडनु नै योग साधना हो । अर्थात प्रकृति (शिव)संग मिल्नु नै जीवनको लक्ष्य हो ।
सामाजिक मर्यादा कायम गर्नु समाजको दायित्व हो । समाजमा बस्दा सामाजिक हुनै पर्छ । यो बाध्यता हो । यो सामाजिक बन्धन हो प्राकृतिक होइन । विश्वमा धेरै प्रकृतिवादी (नग्नतावादी) मानवहरु छन् । यो नग्नतालाई अश्लिलता होइन आत्मियतासंग जोडिएको हुन्छ । अमेरिका युरोप तिर प्राकृतिक बनजंगल, खोलानाला, समुद्रका किनार आदि स्थानहरु प्रकृतिवादीहरुलाई छुट्याइएको हुन्छ । अत्याधिक भौतिकताले नयाँ वर्ग निर्माण गर्छ । वर्गविहिन समाज हाम्रो आवस्यकता हो । जंगलमा हजारौं प्रजातिका वनस्पति पाइन्छन तर तिनीहरुमा कुनै पनि वर्ग विभेद छैन । समाज पनि त्यस्तै प्राकृतिक हुनुपर्छ । तर सामाजिक मर्यादा नाग्न मिल्दैन ।
यहि प्रकृतिवादसंग मिल्ने दर्शन नै नागा दर्शन हो । जीवन केहि होइन – केवल पानीको थोपा हो । जलेर बन्ने खरानी हो । शरीर केवल एउटा रथ हो कपडा शृंगार इत्यादि यो रथको शृंगार मात्रै हो । शृंगार होइन शरीर बलियो हुनुपर्छ । जीवन र जगतको महत्व बुझ्नुपर्छ – भौतिकताले जीवन सरल बनाउनु पर्छ । जीवनकालागी भौतिकता हो भौतिकताको लागी जीवन होइन । यहि सत्य सम्झाउन बुझाउन नागा दर्शनको प्रादुर्भाव भएको हो । सहि नागाले यो सत्य बुझेका हुन्छन र व्यवहारमा उतारेका हुन्छन ।
कठिन रूपमा १२ बर्ष लामो ज्ञान लिए पछि मात्रै नागा बाबा बन्न सकिन्छ । नागा साधुहरू हिन्दू संन्यासी हुन्, जो नग्न रहन र मार्शल आर्टका विशेषज्ञ हुन्छन । तिनीहरू विशेस अखाडाहरूमा बस्छन् । सन्यासी सम्प्रदायका ऋषिहरूलाई संसार र गृह जीवनसँग कुनै सरोकार हुँदैन । गृहस्थको जीवनभन्दा नागाहरूको जीवन धेरै गुणा कठिन हुन्छ ।
बिहान चार बजे उठ्छन, दिनचर्या र स्नान पछि मेकअप गर्छन् । यसपछि हवन, ध्यान, बजरोली, प्राणायाम, कपाल क्रिया र नौली क्रिया गर्छन । भारतमा जुना, महानिर्वाणी, निरञ्जनी, अटल, अग्नि, आनन्द र आवाहन गरी सात आखाडाहरू रहेका छन् । यिनका शाखा विश्वभरी फैलिएका छन् ।
सुरुमा महाऋषि वेदव्यासले वनवासी सन्यासी परम्परालाई व्यवस्थित ढंगले सुरु गरेका थिए । उनीपछि शुकदेव लगाएत धेरै ऋषिमुनिहरूले आ–आफ्नो तरिकाले यस परम्परालाई अगाडी बढाए । पछि शंकराचार्यले चारवटा मठ स्थापना गरेर दशनामी संप्रदायको स्थापना गरेका थिए । यसैगरी सन् ५४७ ईस्वीमा पहिलो अखाडा अखण्ड आवाहन अखाडा हो । नागा पंथमा सामेल हुन आवश्यक जानकारी प्राप्त गर्न छ वर्ष लाग्छ । यस अवधिमा नयाँ सदस्यहरूले लंगौटी बाहेक केही लगाउँदैनन् । कुम्भमेलामा अन्तिम व्रत लिएपछि लंगोट छाडेर जीवनभर यस्तै नागा रहन्छन् ।
नागा उपासना गर्नु भनेको सांसारिक जीवनबाट पूर्णतया अलग रहनु, इन्द्रियलाई नियन्त्रण गर्नु र सबै प्रकारका कामनाहरूको अन्त्य गर्नु हो । त्यसपछि तपस्या, ब्रह्मचर्य, शान्तता, ध्यान, त्याग, धार्मिक अनुशासन र निष्ठा आदिलाई प्रमुख रूपमा ६ बर्ष परीक्षण गरिन्छ । बल्ल १२ बर्ष पुरा भए पछी श्रीदिगम्बर सचिव पद प्राप्त हुन्छ । नागाका १७ श्रृंगारहरूमा लंगोटी, भवभूत, चन्दन, खुट्टामा फलाम वा चाँदीको चुरा, औंठी, पञ्चकेश, कम्मरमा फूलको माला, निधारमा रोली टाँसी, कुण्डली, हातमा चिमटा हुन्छ । डमरु वा कमण्डल, कपालको लट र तिलक, काजल, हातमा काडा, शरिरमा विभूतिको टाँस्ने र पाखुरामा रुद्राक्षको माला हुन्छन् । दिगम्बर नागाहरुले लंगौटि लगाउन सक्छन तर श्रीदिगम्बरले कपडा बिना नै जीवन बाँच्नु पर्छ । श्रीदिगम्बर नागको इन्द्रीय नियन्त्रण गरिएको हुन्छ । नागा साधुहरूको धेरै विशेष संस्कारहरूमा तिनीहरूको कामेन्द्रियहरू भंग हुन्छन् ।
पुरुष मात्रै होइन महिला पनि नागा साध्वी हुन्छन । उनीहरुले पनि यस्तै कठिन १२ बर्ष त्याग र तपस्या गर्नु पर्दछ । यद्दपी उनीहरुले सामान्य एकसरो कपडा लगाउन पाउने अनुमति छ । प्रयागराजको जुना अखाडाले महिला नागा साध्वीहरुको सबै व्यवस्थापन गर्ने गरेको छ । अत्रि ऋषिकि अर्धांगिनी अनुशुया अत्यन्तै पतिव्रत थिइनन । उनको प्रतिव्रता धर्म देखि लक्ष्मी, सरस्वती, तथा पार्वती समेत सबैले इर्श्या गर्दथे । अनुशुयाको पतिव्रता धर्म परिक्षण गर्न ब्रह्मा, विष्णु, र महेश्वर भिक्षु रुपमा उनिकोमा पुगे र भने, “सर्बाङ्ग नाङ्गो भई हामी तीनै जनालाई अँगालेर स्तनपान गराउनु पर्छ, नत्र श्राप दिन्छौं”। पतिव्रता अनुशुयाले परब्रह्मको पुकारा गरिन, “हे परमात्मा यदि मेरो पतिव्रता धर्म सहि छ भने यी भिक्षुहरु तुरुन्तै भर्खरै जन्मेका शिशु बनुन” । पतिब्रता नारीधर्म यति शक्तिशाली हुन्छ कि सोचेको पुग्छ । उनीहरु बच्चा भए, अनुशुयाले सोहीअनुसार स्तनपान गराएर कोक्रोमा पालेर राखिन । छ महिना बित्यो पछी लक्ष्मी, सरस्वती, तथा पार्वती नै आएर आआफ्ना पतिको उद्धार गरे । अत्रि तथा अनुशुयाको सन्तान थिएन, अनि उनैको कृपाले तिनै गुण सम्पन्न गुरु दत्तात्रयको जन्म भयो । नागा साध्वीहरु उनै साध्वी माता अनुशुयालाई आफ्नो आदर्श मान्दछन ।
भनिन्छ यो विश्वब्रह्माण्डलाई प्रकृतिले चलाएको छ । प्रकृतिलाई ग्रह नक्षत्रले चलाएको छ । ग्रह नक्षत्रलाई देवीदेवताले चलाएका छन् । देवीदेवतालाई मन्त्रले चलाएको छ । र त्यो मन्त्रलाई यिनै साधु सन्तले चलाएका छन् । त्यसैले नागा साध्वी तथा साधुहरु अत्यन्तै पुजनीय हुन्छन । उनीहरुको दर्शनले नै मन भित्र रहेका सबै भौतिक कामनाका जंजिरहरु कम्जोर हुन थाल्दछन र मुक्तिको मार्ग खुल्न सुरु हुन्छ । नेपालमा केवल शिवरात्रिमा मात्रै यस्ता अलौकिक शाधु सन्तहरुको दर्शन गर्न सकिन्छ ।
ऋग्वेदमा रुद्रको आराधनामा १२ रुद्रहरु नै शिव शंकर, भोलेनाथ, देवादिदेव महादेव श्रीपशुपतिनाथ हुन् । उनीहरु कपडा शरीरको माया भएकाहरुले लगाउने हो भन्ने ठान्दछन् । कपडाको प्रयोग ज्यान जोगाउनेहरुले मात्र गर्ने हो भन्ने उनीहरु ठान्छन् । उनीहरुलाई शरीरको कुनै महत्व हुँदैन । सम्पूर्ण पशुवत पासहरु, सांसारिक माया मोह छोडेर, इन्द्रीयलाई वशमा राख्न एकाग्र भएर ब्रह्ममा लीन हुने अर्थात् शिवमा समाहित मार्ग नै नागा मार्ग हो । शिवमार्गमा शैव, पाशुपत, कालदमन र कापालिक जस्ता दर्शन प्रचलित छन् । सांसारिक हुँदाहुँदै पनि पशुवत पासबाट मुक्त हुने दर्शन नै पाशुपत दर्शन हो ।
जैन तथा बुद्ध दर्शनले पनि शुन्यतावाद र प्रकृतिवादको प्रसस्त वकालत गरेका छन् । जैन तिर्थंकरहरु त दिगम्बर नै हुन् । प्रकृति भन्दा प्रभावशाली के होला र ? त्यसैले यो पाशुपत दर्शन नै प्रकृतिवाद ( निष्काम नेचरिजम) हो । पश्चिममा पनि एरिस्टोटल तथा डेमोक्रेटस (४६० देखि ३७० इसापूर्व)ले प्रकृतिवादको कुरा गरेका छन् । पछी १८ औं शताब्दीमा जाँ ज्याक रुसो, अगस्ट कम्पट, हब्स, बेकन आदी विद्ध्वनहरुले प्रकृतिवादलाई समाजशास्त्रमा बलियो तरिकाले प्रस्तुत गरेका छन् । त्यसैले नागा दर्शन परिस्कृत पुजनीय प्रकृतिवाद हो । जीवन दर्शन हो ।
जय श्रीपशुपतिनाथ !!!