पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा पुगेको छ । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी आज घरमै मृत अवस्थामा भेटिएका थिए ।
उनीहरूको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशवाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । जिसी दम्पतीको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
‘गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो’, प्रहरी नायब उपरीक्षक भुसालले भने, ‘घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।’ घटना रहस्यमय देखिएकाले अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए ।
मृतक जिसी दम्पतीका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रवीन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए ।
छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए । जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पती मात्र बस्ने गरेको बताए । ‘सोमबार बेलुका ८ः३० बजेको समयमा सूर्यबहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनुभएको थियो’, उनले भने, ‘ पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ, मैले डढेलो निभाउन अरु मानिस चाहिन्छ भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नुभएको थियो ।’
हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोरा रवीन जिसीले बताए । फोन नउठेपछि म्याग्दीमै बस्ने माइली बुहारीसहित रवीन घर पुग्दा आमाबुवा दुवै जना मृत भेटिएका थिए ।